गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले पार्टीको सचिवालय, केन्द्रीय सल्लाहकार परिषद् तथा सङ्घीय नेतृत्व परिषद् विस्तार गरेको छ । बैठकले पार्टीको महामन्त्रीमा भूपदेव शाहलाई मनोनयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा रास्वपका वरिष्ठ नेता वालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको प्रमुख रहँदा शाह उहाँका स्वकीय सचिव हुनुहुथ्यो । केन्द्रीय समितिको बैठकले सचिवालय सदस्यमा शाहसहित प्रतिनिधि सभा सदस्य सागर ढकाल र पूर्वसञ्चारकर्मी सरिताश्री ज्ञवालीलाई समेत मनोनयन गर्ने निर्णय गरेको छ । योसँगै रास्वपाको सचिवालय सदस्याको सङ्ख्या १६ पुगेको छ ।
पार्टी सभापति रवि लामिछानेको संयोजकत्वमा यसअघि गठन भएको सचिवालयमा उपसभापति स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष वसुमाया तामाङ, प्रवक्ता मनिष झा र सचिवालय सदस्यमा गणेश पराजुली, दीपक बोहरा, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम, हरि ढकाल रहनुभएको थियो ।
त्यसै गरी बैठकले पार्टीको सङ्घीय नेतृत्व मञ्चको सदस्यमा सप्तरीका तुलसीप्रसाद चौधरी, बर्दियाका रामसिंह थारू, मोरङका जीवन धामी, कैलालीका प्रेमा चौधरी, कञ्चनपुरका नवराज राना र दाङका एकराज चौधरीलाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यसै गरी बैठकले केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा काभ्रेबाट जीवनप्रभा लामा, नवलपरासीपूर्वबाट मोतीप्रसाद पङ्गाली, भक्तपुरबाट हरिप्रसाद पाण्डे र कपिलवस्तुबाट विष्णुहरि शर्मालाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यसै गरी बैठकले रास्वपाबाट निर्वाचित सांसदबाट १५ हजार, मन्त्रीबाट १८ हजार र स्वकीय सचिवबाट दुई हजार रुपियाँ लेबी उठाउने निर्णय गरेको छ ।
पार्टी सभापति लामिछानेको अध्यक्षतामा केन्द्रीय कार्यालय काठमाडौँको वनस्थलीमा बसेको बैठकले यही वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णयलाई अनुमोदनसमेत गरेको छ । रास्वपा पार्टी प्रवक्ता मनिष झाका अनुसार सचिवालयको बैठकले जिल्ला अधिवेशन कार्यविधि तयार गर्ने, बैङ्क खाता सञ्चालन गर्ने, केन्द्रीय आयोग गठन गर्ने निर्णय गरेको छ । यसै गरी बैठकले केन्द्रीय सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्चमा सदस्य थप गर्ने निर्णय गरेको छ ।