बिकास अधिकारी
पश्चिम नवलपरासी, वैशाख ८ गते । पश्चिम नवलपरासीको प्रतापपुरमा आज दिउँसो आगलागी हुँदा १२ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
प्रतापपुर गाउँपालिका वडा ५ भैरमपुरमा स्थानीय गोबिन्द चमारको घरबाट सुरु भएको आगोले १२ जनाको कच्चि घर जलेर नष्ट भएको छ । आगलागीमा कुनै मानवीय क्षति नभएपनि ३ वटा बाख्रा जलेर मरेका छन् भने एउटा बाख्रा घाइते भएका छन् ।
आगलागीबाट घर सहित अन्नपात लत्ताकपडा गरि ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरदत्त पन्तले जानकारी दिनुभयो । पन्तका अनुुसार स्थानीय गोविन्द चमारले बिहान घरमा सरसफाईबाट जम्मा भएको फोहोर जलाउन बालेको आगो राम्रोसँग ननिभाँउदा हावाले उडाएर आगलागी भएको हो ।
गरिब विपन्न बस्तीमा आगोले घरबास जलेर नष्ट भएपछि उनीहरुको बिचल्ली भएको छ । घटनामा गोविन्द चमार सहित रामसिंह कुर्मी, राम बहादुर कर्मी, नगिना हरिजन, भुटेल हरिजन, सन्तोष हरिजन, कासिलाल चमार, शिवशरण कुर्मी, सदिक मियाँ, किमन कुर्मी र अनेश कुर्मीको कच्चि घर जलेर नष्ट भएको हो भने उमेश कुर्मीको दुई कोठे पक्कि घरमा पनि आगोले क्षति पुर्याएको छ ।
आगो लागेपछि समयमै दमकल पुग्न नसकेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । प्रतापपुर गाउँपालिकाका लागी दातृ निकायबाट दमकल प्राप्त भएको महिनौँ हुदा समेत संञ्चालनमा आउन सकेको छैन् । रामग्रामबाट गएको दमकलको बाटोमै टायर पन्चर भएपछि घटनास्थल सम्म पुग्न ढिलाई भएको थिया् । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको डिएसपी पन्तले बताउनुभयो ।