• ९ वैशाख २०८३, बुधबार

बेनीमा करदाता सेवा सुरु

blog

म्याग्दी, वैशाख ८ गते । बेनी नगरपालिकामा जिल्लामै पहिलो पटक आजदेखि करदाता सेवा सुरु भएको छ । बेनी नगरपालिका कार्यालयबाट स्थायी लेखा नम्बर जारी, व्यवसायलाई आयकरमा दर्ता, स्थायी लेखा नम्बर दर्तासँग सम्बन्धित संशोधन र दर्ता खारेजी भएका ब्यवसायिक स्थायी लेखा नम्बरलाई व्यक्तिगत स्थायी लेखा नम्बरमा रूपान्तरण गर्नेसम्बन्धी सेवा सुरु भएको हो । 

यसअघि यी सेवा लिनका लागि म्याग्दीका सेवाग्राहीहरू आन्तरिक राजस्व कार्यालय बागलुङ जाने गरेका थिए । करदातासम्बन्धी सेवाका लागि बागलुङ जान, आउन लाग्ने समय र खर्चको बचत भई सर्वसाधारणलाई सहज हुने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत कपिल सिलवालबीच समझदारीपत्रमा हस्ताक्षर गरी सेवा प्रवाहको औपचारिक सुरुआत गरिएको हो । सङ्घीय सरकारले गत कात्तिक १७ गते स्थानीय तहबाट करदाता सेवा प्रदान गर्ने निर्णय गरेको थियो । 

सेवाले प्रशासनिक सङ्घीयतालाई बलियो बनाउने र यस कार्यक्रमले कर प्रशासनको कामलाई विकेन्द्रित गर्दै स्थानीय तहलाई  थप मजबुद बनाउन सहयोग पुग्ने आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत सिलवालले बताउनुभयो । 

उहाँका अनुसार कर कार्यालय बागलुङको कार्यक्षेत्र भएका जिल्लाहरू बागलुङ, पर्वत, मुस्ताङ र म्याग्दीका स्थानीय तहहरूमध्ये बागलुङको गलकोट नगरपालिका, पर्वतको पैँयु गाउँपालिका र म्याग्दीको बेनी नगरपालिकाबाट सेवा सुरु भएको छ । अन्य जिल्लाका पालिकाहरूमा पनि बिस्तारै सेवा विस्तार गरिने योजना रहेको सिलवालले बताउनुभयो ।  

बेनी नगरपालिकामा करदता सेवा प्रदान गर्न नगरका राजस्व शाखाका चार जना कर्मचारीलाई तालिम प्रदान गरी आवश्यक उपकरणको व्यवस्थापन गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । 

करदातालाई सहजता हुने, कर भुक्तानीको लागत र समय घट्ने, स्थानीय सरकारको ‘आयस्रोत’ सक्षमता करको आधारमा वृद्धि हुने, सुशासन प्रवर्धनमा सहयोग पुग्ने बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । रासस