• ८ वैशाख २०८३, मङ्गलबार

मुस्ताङमा भारतीय नागरिक मृत फेला

blog

मुस्ताङ, वैशाख ८ गते । मुस्ताङमा एक भारतीय नागरिकको शव मृत अवस्थामा फेला परेका छन् । घरपझोङ गाउँपालिका–४ लामाकुर्सीस्थित लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा भारतीय नागरिकको शव आज बिहान १०ः१५ बजेको समयमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रतापगढ उत्तर प्रदेश राज्य भारत घर भएका ६३ वर्षीय पुरुष सङ्गमलाल यादवको शव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिनुभयो ।

वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको सिमाना पान्डा खोला नजिकै जोमसोम–कागबेनी सडक छेउको लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा भारतीय नागरिकको मृत शव फेला परेको प्रहरी निरीक्षक महतले बताउनुभयो ।

मृत फेला परेका भारतीय नागरिकको घटनास्थलबाट आधार कार्ड फेला परेको छ । घटनाको प्रहरी विवरणअनुसार मृत फेला परेका भारतीय नागरिक यादव अघिल्लो महिनाको चैत्र १८ गते ट्रेकिङका लागि आएको बताइएको छ । 

भारतीय नागरिकको मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङले मृतकको परिवारसँग सम्पर्कको लागि समन्वय गरिहेको जनाएको छ । प्रहरी कार्यालयका अनुसार मृतक भारतीय नागरिकको शव जोमसोमस्थित प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

यसअघि भारतीय नागरिकको शव मृत अवस्थामा रहेको सूचना प्राप्त गरेलगत्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङमा नौ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले भारतीय नागरिक मृत अवस्थामा फेला परेको घटनास्थलको प्रकृति र मचुल्का तयार गरी अनुसन्धानकार्य अघि बढाइएको प्रहरी निरीक्षक महतले उल्लेख गर्नुभयो । रासस