• २ वैशाख २०८३, बुधबार

मेहनतले दिलाएको सफलता

blog

काठमाडौँ, वैशाख २ गते । घरबाटै जिम सुरु गर्नुभएका उहाँ यतिबेला खेलाडी मात्र हुनुहुन्न, राष्ट्रिय/अन्तर्राष्ट्रिय निर्णायक/प्रशिक्षकको भूमिकामा पनि परिचित हुनुहुन्छ । विसं २०५५ मा मिस्टर धर्मश्री बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि जितेपछि उहाँको उचाइ बढ्दै गयो । नेपाल स्ट्रेथ लिफ्टिङ महासङ्घको महासचिव र विश्व स्ट्रेथ लिफ्टिङ महासङ्घको कार्यकारी सदस्यसमेत रहनुभएका कपिलवस्तुका जीवन गिरीले धेरै चुनौती पार गर्दै यो उचाइ हासिल गर्नुभएको हो । 

विसं २०४५ सालमा कराँते खेल्ने क्रममा साथीहरूसँगै वेट लिफ्टिङ पनि गरेपछि उहाँमा यसप्रति आकर्षण बढ्यो । शरीरमा सकारात्मक परिवर्तन देखिन थालेपछि उहाँले बिहान–साँझ निरन्तर व्यायाम गर्न थाल्नुभयो । एउटा ब्लुवर्कर र डम्बेल किनेर अभ्यास सुरु गर्नुभएका उहाँको आर्थिक अवस्था कमजोर थियो । त्यसैले आफूले आठ सय रुपियाँमा पुरानो क्लबको वेट प्लेट र बार किनेर आफ्नो रुचिलाई निरन्तरता दिनुभयो । बार कम परेकाले बोरिङको पाइप काटेर आफैँ बार बनाएँ, उहाँ विगत सम्झँदै भन्नुहुन्छ, बस्ने कुर्सीसमेत नभएकाले काठको कुर्सी खोजेर घरमै जिम सुरु गरेँ । विस्तारै साथीहरू भेला हुन थालेपछि सामूहिक रूपमा जिम गर्न थालेको बताउनुभयो । 

विसं २०५१ सालमा भैरहवामा भएको दोस्रो मि. लुम्बिनी बडिबिल्डिङ च्याम्पियनसिपमा भाग लिँदासम्म उहाँलाई ‘पोजिङ’ को बारेमा सामान्य ज्ञान पनि थिएन । यद्यपि प्रतियोगितामा उहाँले सबैलाई जित्नुभएको थियो । यही जित नै उहाँको जीवनको ठुलो निर्णायक विन्दु बन्यो । उहाँ भन्नुहुन्छ, “सोही वर्ष धरानमा भएको १० औँ राष्ट्रिय बडिबिल्डिङ च्याम्पियनसिपमा दोस्रो भएपछि म पूर्णकालीन रूपमा जिम र बडिबिल्डिङमा लागेँ ।” २०५२ सालमा नेपाल बडिबिल्डिङ एसोसिएसनद्वारा आयोजित मि. हिमालय बडिबिल्डिङ च्याम्पियनसिपमा आफ्नो तौल समूहमा पहिलो भएपछि उहाँको आत्मविश्वासमा थप वृद्धि भयो । 

यसैबिच उहाँले कपिलवस्तुको सदरमुकाम तौलिहवामा नेपाल व्यायाम मन्दिरको स्थापना गरेर मि. लुम्बिनी बडिबिल्डिङ च्याम्पियनसिपको आयोजना गर्नुभयो । विसं २०५५ सालमा मि. धर्मश्री जितेपछि भारतको नासिकमा भएको पहिलो साउथ एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा सहभागी हुनुभएका गिरीले कांस्य पदक जित्नुभयो । साथै भारतमा भएको १० औँ विश्व स्टे«न्थलिफ्टिङ तथा इनक्लाइन बेन्च प्रेस च्याम्पियनसिमा नेपालको प्रतिनिधित्व गर्दै उहाँले ११५ प्लस किलोग्रामतर्फ सिनियर आइबिपीमा पहिलो हुनुभएपछि उहाँको पहिचान अन्तर्राष्ट्रिय मञ्चमा पनि फैलियो ।  

धर्मश्री जितेर व्यावसायिक स्थापित खेलाडी भए पनि त्यसबेलासम्म उहाँको सानो जिम थियो । त्यही जिमबाट आएको आम्दानीले ‘डाइट’ र प्रशिक्षण खर्च चलाएको उहाँले बताउनुभयो । सन् २०२० मा भारतको अमरावतीमा भएको वल्र्ड पावरलिफ्टिङ च्याम्पियनसिपमा प्रशिक्षकका रूपमा नेपालबाट खेलाडी लिएर नेपालका लागि पदक जिताउनु आफ्नो जीवनको अविस्मरणीय क्षण रहेको उहाँले बताउनुभयो । उहाँले सन् २०२१ मा स्ट्रेथ लिफ्टिङ खेल नेपालमा भित्र्याएको बताउँदै खेलकुदको विकासमा योगदान पु¥याएको भन्दै लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश रत्न’ प्रदान गरेको बताउनुभयो । हाल भालुभैरव जिम खोलेर काठमाडौँ उपत्यकासहित नेपालका विभिन्न स्थानमा यसको शाखा सञ्चालन गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “अहिलेसम्म जे पाएँ, आफ्नै मेहनत र जिमबाट पाएँ ।”