सुधा देव
भारदह (सप्तरी), वैशाख २२ गते । सप्तरीमा विभिन्न मुद्दाका दस जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले मङ्गलबार विज्ञप्ति जारी गर्दै विभिन्न मुद्दाका प्रतिवादी पक्राउ परेको जानकारी दिएको छ ।
ज्यान मार्ने उधोग, लागु औषध, लुटपिट, सवारी ज्यान, अभद्र व्यवहार लगायतका विभिन्न मुद्दाका १० जना प्रतिवादी पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
लुटपाट मुद्दाका प्रतिवादी सप्तरी खडक नगरपालिका–५ का राजोदेवीकुमारी मण्डल, कारीदेवी मण्डल, रामदुलार मण्डल, रिताकुमारी मण्डल, दिपेशकुमार मण्डल, सेवरीदेवी मण्डल, रञ्जनाकुमारी मण्डल पक्राउ पर्नुभएको हो ।
पक्राउ परेका प्रतिव्यक्तिसँग एक सय ९६ रुपियाँ जरिवाना तोकिएको छ । यसैगरी लागु औषध मुद्दामा २ दिन कैद सजाय तोकिएका राजविराज–७ का धिरेन्द्रकुमार साह रहनुभएको छ । उहाँहरूलाई कैद तथा जरिवाना भुक्तानका लागि सोमबार नै सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरिएको प्रवक्ता पुरीले जानकारी दिनुभयो ।
यसैगरी सवारी अङ्गभङ्ग मुद्दामा तिरहुत गाउँपालिका–५ का वर्ष २० को शिवशङ्कर यादव र ज्यान मार्ने उधोग मुद्दामा सुरुङ्गा नगरपालिका–९ का वर्ष ४० को काशिन्द्र साह, अभद्र व्यवहार मुद्दाका प्रतिवादी चितवन राप्ती नपा–९ बस्ने वर्ष ३० को रामबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका प्रतिवादीविरुद्ध जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद थपगरी अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता पुरीले जानकारी दिनुभयो ।