धीरेन्द्रप्रसाद साह
राजविराज, वैशाख २२ गते । सप्तरीमा विभिन्न आपराधिक मुद्दाका ११ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार ज्यान मार्ने उद्योग, लागु औषध, लुटपाट, सवारी ज्यान तथा अभद्र व्यवहारसम्बन्धी मुद्दाका प्रतिवादीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार लुटपाट मुद्दामा खडक नगरपालिका–५ का राजोदेवी कुमारी मण्डल, कारीदेवी मण्डल, रामदुलार मण्डल, रिताकुमारी मण्डल, दिपेशकुमार मण्डल, सेवरीदेवी मण्डल र रञ्जनाकुमारी मण्डल पक्राउ परेका छन्। उनीहरूलाई जनही १९६ रुपियाँ जरिबाना तोकिएको थियो।
त्यस्तै, लागु औषध मुद्दामा दुई दिन कैद सजाय तोकिएका राजविराज–७ का धीरेन्द्रकुमार साहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई कैद तथा जरिबाना भुक्तानका लागि सोमबार नै सप्तरी जिल्ला अदालत, राजविराजमा बुझाइएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो।
यसैगरी, सवारी अङ्गभङ्ग मुद्दामा तिरहुत गाउँपालिका–५ का २० वर्षीय शिवशङ्कर यादव, ज्यान मार्ने उद्योग मुद्दामा सुरुङ्गा नगरपालिका–९ का ४० वर्षीय काशिन्द्र साह तथा अभद्र व्यवहार मुद्दामा चितवन राप्ती नगरपालिका–९ का ३० वर्षीय रामबहादुर विश्वकर्मालाई समेत नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो। उहाँका अनुसार पक्राउ परेका प्रतिवादीविरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।