• २ जेठ २०८३, शनिबार

म्युजिक नाइट रनमा एक्सट्रिम इनर्जी पार्टनर

blog

गजेन्द्र गुरुङ

खजुरा, वैशाख २२ गते । दोस्रो नेपालगन्ज १० के म्युजिक नाइट रनमा एक्सट्रिम इनर्जीले इनर्जी पार्टनरका रूपमा सहकार्य गरेको छ । यही वैशाख २५ गते राति ८ बजे हुने म्युजिक नाइट रन सङ्गीत र दौडमार्फत समाजलाई एकतामा बाँध्ने र सहरलाई चलायमान गराउने अभियान रहेको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताउनुभयो । 

नेपालगन्ज १० के नाइट रन विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को पूर्णकालीन सदस्य हो । नाइट रन पनि एम्स प्रमाणीकरण रुटमा सञ्चालन हुने रेस डाइरेक्टर गुरुङले बताउनुभयो । 

नेपालगन्ज उपमहानगरपालिका गेटबाट सुरु भइ राँझाचोक पुगेर पुनः सोही रुट हुँदै बिपीचोकमा सम्पन्न हुने दौड अवधिभर साङ्गीतिक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । एम्समा आबद्ध दुई वटा रेस सञ्चालन हुने नेपालगन्ज नेपालमा एक मात्र सहर हो ।  

नाइट रनमा १० किमी खुला पुरुष र महिला तथा ५ किमी स्कुलस्तरीय छात्र एवम् छात्रा विधामा स्पर्धा समावेश गरिएको छ । गत संस्करणमा नेपाली सेनाका मुकेश पाल र नरैनापुर (बाँके)की गीताकुमारी साहु विजेता बन्नुभएको थियो । 

नेपालगन्ज १० के म्युजिक नाइट रन नेपालको पहिलो रात्रि दौड हो । स्वस्थ, सभ्य र सुरक्षित सहरको परिचय स्थापित गर्न नाइट रन सुरु गरिएको आयोजकले जनाएको छ । 

यसपटक स्थानीयस्तरमा राम्रो प्रदर्शन गर्ने धावकलाई वल्ड एथलेटिक्सबाट मान्यताप्राप्त दक्षिण एसियाली र एसियाली मुलुकमा हुने आधिकारिक रेसमा सहभागी गराउने तयारी गरिएको आयोजक रेस नेपालका कोषाध्यक्ष सुमन बस्नेतले जानकारी दिनुभयो । 

धारा नेपालगन्ज म्याराथनले थाइल्यान्ड मलेसिया सिङ्गापुर भुटान बङ्गलादेशलगायत देशमा धावक सहभागी गराउने तयारी गरिरहेको जनाएको छ ।