ज्ञानु पंगेनी
मध्यविन्दु, वैशाख २२ गते । नवलपुरको कावासोती नगरपालिका –१३ निवासी कलाधर रिजालले आफ्नै घरलाई नेपाली समुदायका परम्परागत सामग्री संकलन गरी संग्रहालयजस्तै बनाएर संरक्षण गर्नुभएको छ ।
रिजालले बुबा–बाजेको पालादेखि प्रयोग हुँदैआएका ठेकी, हलो–जुवा, लाल्टिन, चर्खा, मदानी, स्याखु, डोको लगायतका सामग्री व्यवस्थित रूपमा सजाएर राख्नुभएको छ । ती सामग्री दीर्घकालसम्म सुरक्षित रहून् भन्ने उद्देश्यले उहाँले आफैं रंगरोगन गरी चिटिक्क पारेर संरक्षण गर्नुभएको छ ।
प्रविधिको तीव्र विकाससँगै लोप हुँदै गएका पूर्खाका सामग्रीको इतिहास जोगाउने उद्देश्यले आफूले यस्तो संग्रह सुरु गरेको रिजाल बताउनुहुन्छ । उहाँका अनुसार, परम्परागत जीवनशैली ओझेलमा पर्दै गएको अवस्थामा पूर्खाको इतिहास जोगाउने र नयाँ पुस्तालाई ती सामग्रीबारे जानकारी होस् भन्ने उद्देश्यले संग्रह गरिएको हो ।
“केही सामग्री आफ्नै घरमा थिए, अरू साथीभाइ र छिमेकीबाट संकलन गरेको हुँ” उहाँले भन्नुभयो । रिजाललाई सामग्री संकलन गर्ने प्रेरणा स्थानीय थारु समुदायका एक व्यक्तिबाट प्राप्त भएको हो । “एक दिन थारु समुदायका एक व्यक्तिले पुराना वस्तु संकलन गर्दै मेरा घरमा आउनुभयो ।
त्यसदिन मैले पनि विचार गरेँ, म आफैं पनि यी सामग्री संकलन गरेर राख्न सक्छु । त्यस दिनदेखि आफ्नै घरलाई संग्रहालयका रूपमा विकास गर्ने सोच बनाएर परम्परागत सामग्री संकलन गर्न थालेको हुँ” रिजालले भन्नुभयो ।
उहाँको यस कार्यले घरआँगन सुन्दर बन्नुका साथै पुराना संस्कृतिको संरक्षण समेत भएको छ । उहाँका घरमा आवत–जावत गर्नेहरू पनि केही समय रोकिएर ती सामग्री हेर्ने र बुझ्ने गर्दछन् ।
परम्परागत सामग्रीसँगै रिजालले खेर गएका काठ–दाउरा तथा घरायसी वस्तु प्रयोग गरी गमला, कुर्सी, परेवाको घर, चराचुरुङ्गीका आकृति तथा सुरक्षाकर्मीका डमीसमेत तयार पारेर सजावट गर्नुभएको छ ।