काठमाडौँ, वैशाख १५ गते । काठमाडौँको हात्तीगौँडामा जन्मिनुभएकी रङ्गकर्मी सिर्जना अधिकारी नेपाली नाट्य र चलचित्र क्षेत्रमा एक स्थापित नाम हो । उहाँको कला यात्राको जग विद्यालय जीवनमै बसिसकेको थियो । अग्रज रङ्गकर्मी अशेष मल्लका सडक नाटकबाट प्रभावित भएकी सिर्जनाले कक्षा ९ मा अध्ययनरत रहँदा आफ्नै काकाको प्रेरणा र आमाको प्रोत्साहनबाट अभिनयको श्रीगणेश गर्नुभयो । विद्यालयस्तरदेखि नै देशका विभिन्न दुर्गम जिल्लामा पुगेर सडक नाटकमार्फत सामाजिक चेतना फैलाएकी उहाँले पछि अनुप बरालको एक्टर्स स्टुडियोमा व्यावसायिक प्रशिक्षण लिएपछि आफूलाई एक परिपक्व कलाकारका रूपमा उभ्याउनुभयो ।
हाल प्रदर्शनरत चलचित्र ‘परालको आगो’ सिर्जना अधिकारीको करियरको कोसेढुङ्गा साबित भएको छ । झन्डै चार दशकअघि निर्देशक प्रताप सुब्बाले गुरुप्रसाद मैनालीको कालजयी कथामा आधारित रहेर निर्माण गरेको श्वेतश्याम चलचित्रले नेपाली दर्शकको मनमा एउटा अमिट छाप छोडेको थियो । सोही विरासतलाई आत्मसात् गर्दै निर्माण गरिएको नयाँ ‘परालको आगो’ मा सिर्जनाले मुख्य महिला पात्र सुन्तलीको भूमिका निर्वाह गर्नुभएको छ ।
सिर्जनाका अनुसार चलचित्र केवल एउटा पुनर्निर्माण वा रिमेक मात्र नभई, पुरानो कथाको मर्मलाई नमारेर आधुनिक शिल्प र नयाँ दृष्टिकोणबाट बुनिएको एउटा सुन्दर कलाकृति हो । “पहिलेको परालको आगो नेपाली दर्शकको भावनासँग जोडिएको छ । अहिलेको चलचित्रमा निर्देशकको एउटा विशेष भिजन र लेखकको नयाँ शैली मिसिएको छ । हामीले पुरानो मर्मलाई वर्तमान समयको माग र दर्शकको मनोविज्ञान सुहाउँदो ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेका छौँ,” उहाँले भन्नुभयो ।
चलचित्रमा सिर्जनाले निर्वाह गर्नुभएको सुन्तली पात्र एक सामान्य ग्रामीण महिलाको प्रतिनिधि स्वरूप हो । यो एउटा यस्तो जीवन्त पात्र हो, जसमा हरेक नेपालीले आफ्नै समाजको कुनै न कुनै प्रतिविम्ब भेट्न सक्छन् । म्याग्दीको उच्च पहाडी भेग धारापानीको भौगोलिक विकटता र प्राकृतिक सौन्दर्यबिच सुन्तलीको भूमिकामा डुब्न सिर्जनाले निकै मेहनत गर्नुभएको छ ।
नाट्य पृष्ठभूमि भएका दिग्गज कलाकार सौगात मल्लसँग जोडी बाँध्नु सिर्जनाका लागि चुनौती र अवसर दुवै थियो । सुरुका दिनमा केही असहज महसुस भए पनि सौगात मल्लको व्यावसायिकता र मार्गदर्शनले अभिनयलाई थप निखार्न मद्दत पुगेको उहाँको अनुभव छ । “सौगात दाइ जस्तो सिनियर र अनुभवी कलाकारसँग स्क्रिन सेयर गर्दा धेरै कुरा सिक्ने मौका मिल्यो, जसले सुन्तलीको चरित्रलाई पर्दामा न्याय गर्न सहज बनायो,” उहाँको भनाइ थियो ।
चलचित्रको शीर्षकले नै नेपाली समाजको एउटा गहिरो सत्यलाई प्रतिविम्बित गर्छ । ‘बुढाबुढीको झगडा परालको आगो’ । अधिकारीका अनुसार चलचित्रले मानिसलाई संयम, धैर्य र आपसी गल्ती सुधारेर अघि बढ्ने एउटा दार्शनिक सन्देश दिन्छ । उहाँको बुझाइमा सानो कुरामा आवेगमा आउनु र झगडा गर्नु मानवीय स्वभाव हो तर त्यो परालको आगो जस्तै क्षणिक हुन्छ । सम्बन्धमा दरार आए पनि गल्ती सुधारेर पुनः मेलमिलाप गर्नु नै जीवनको वास्तविक सुन्दरता हो । ग्रामीण परिवेशको मौलिकता र त्यहाँका महिलाको सहनशीलतालाई चलचित्रले बडो मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।
रङ्गमञ्चका ‘मलामी’, ‘सुनकेशरी’, ‘डिग्री माइला’ जस्ता दर्जनौँ सफल नाटक र ‘खाग’, ‘सतीदेवी’ जस्ता चलचित्रमा आफ्नो अभिनय कौशल देखाइसक्नुभएकी कलाकार अधिकारीका लागि ‘परालको आगो’ एक विशेष परीक्षा र गौरव दुवै हो । उहाँको अभिनयले सुन्तली पात्रलाई मात्र जीवित बनाएको छैन, बरु आधुनिक नेपाली चलचित्रमा कलाकारको समर्पण कस्तो हुनु पर्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरेको छ । म्याग्दीका हिमाल र पहाडका दृश्य जस्तै सिर्जनाको अभिनय पनि चलचित्रमा निकै स्वच्छ र प्रभावकारी देखिएको छ, जसले गर्दा परालको आगोले दर्शकको मन फेरि एक पटक जित्ने निश्चित देखिन्छ ।