हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), जेठ ४ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ मा नेपाल–चीन जोड्ने कोरला (नेचुङ–लिजी) नाकास्थित दशगजा क्षेत्रमा भूमिगत पानीको परीक्षण सफल भएको छ । समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरला नाकामा प्राकृतिक मुहान नभएपछि गत वैशाख २६ गतेदेखि प्राविधिक टोलीले ड्रिलिङ मेसिनमार्फत परीक्षण थालेको थियो । सो क्रममा आइतबार पानी निस्किएको हो ।
गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले जमिनबाट १२० मिटर गहिराइमा पानी फेला परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब नाकामा खानेपानीको समस्या हुँदैन । थप भौतिक संरचना निर्माण गरेर पानीको उपयोग गर्छौँ ।”
अध्यक्ष गुरुङका अनुसार नियमित खानेपानी आपूर्तिका लागि विद्युत् मिटर जडान, ट्याङ्की निर्माणलगायत आवश्यक पूर्वाधार विकासका लागि पहल भइरहेको छ । पानी निकाल्ने काम सफल भए पनि पिउनेयोग्य संरचना निर्माण गर्न केही समय लाग्ने उहाँले बताउनुभयो । गाउँपालिकाले ३० लाख रुपियाँको लागतमा एसियन ड्रिलिङ कम्पनीमार्फत भूमिगत खानेपानी आयोजनाको काम गराएको थियो ।
नाकामा व्यवसाय गर्ने स्थानीय र पर्यटकलाई खानेपानीको चरम अभाव थियो । उनीहरूले चिनियाँ पक्षबाट ट्याङ्करमार्फत पानी ल्याउने तथा १४ किलोमिटर तल रहेको मुस्ताङ भन्सार कार्यालयबाट सवारीसाधनमार्फत पानी ढुवानी गर्ने गरेका थिए । यसका लागि २० देखि ४० लिटर पानीको प्रतिग्यालिन २०० देखि ३०० रुपियाँसम्म तिर्नुपर्ने बाध्यता रहेको थियो ।
कोरला नाकामा भूमिगत पानीको परीक्षण सफल भएपछि व्यवसायी उत्साहित भएका छन् । छोसेरका वडा अध्यक्ष एवम् गाउँपालिकाका आर्थिक समितिका संयोजक कर्मा नामग्यालले भन्नुभयो, “यहाँको सबैभन्दा ठुलो समस्या नै खानेपानी थियो, अब धेरै सहज हुनेछ ।”
कोरला नाकामा हाल ७० वटा टेन्टमा करिब १५२ जना व्यवसायी रहेका छन् । गाउँपालिका उपाध्यक्ष छयुमी बिष्ट गुरुङसहित स्थानीय जनप्रतिनिधिलाई व्यवसायीहरूले धन्यवाद दिएका थिए । यसअघि गाउँपालिकाले ६ वटा अस्थायी शौचालय निर्माण गरेको थियो भने चीन सरकारले ४ वटा पक्की शौचालय निर्माणका लागि सामग्री उपलब्ध गराएको थियो ।
कोरला नाकामा हाल खानेपानी र शौचालय मुख्य समस्या बनेका छन् । मुस्ताङ भन्सार कार्यालयको नाममा ६०० रोपनी जग्गा रहेकाले स्थानीय सुविधाका लागि भौतिक संरचना निर्माणमा समेत समस्या भइरहेको छ ।
सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बती खम्पाहरूले नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि बन्द भएको यो नाका वि.सं. २०८० कात्तिक २७ गते औपचारिक रूपमा उद्घाटन गरिएको थियो । नाका चालु आर्थिक वर्ष २०८२/०८३ को भदौ ३० गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ।