जनार्जन खत्री
सर्लाही, जेठ ४ गते । सर्लाहीको बागमती क्षेत्रमा बेमौसमी वर्षाले सुकाएको मकै बगाएपछि स्थानीय किसान र व्यापारी मारमा परेका छन् । बागमती नगरपालिका–११, कर्मैयास्थित फुटबल चौर अगाडिको सडकमा एक दर्जनभन्दा बढी किसानले सुकाएको मकै आइतबार दिउँसो परेको असिनासहितको वर्षाले बगाएको हो ।
अकस्मात् मौसम बदली हुँदा किसानले सुकाएको मकै उठाउनसमेत नपाएको स्थानीय किस्मतराज मैनालीले बताउनुभयो । व्यापारीहरूले पनि किसानबाट खरिद गरेर ल्याएको मकै सोही स्थानमा सुकाएका थिए । एक्कासि पानी परेपछि ठुलो परिमाणमा सुकाइएको मकै भलसँगै बगेको मैनालीको भनाइ छ ।
आइतबार परेको वर्षाले सर्लाहीका अन्य स्थानमा पनि किसानले घर, आँगन तथा सडकमा सुकाएको मकै भिजाएको छ ।
बागमतीसहित आसपासका क्षेत्रमा आइतबार दिउँसोपख ठुलो हावाहुरीसहित केहीबेर असिनापानी परेको थियो । यस वर्ष बारम्बार बेमौसमी वर्षा भइरहँदा विशेषगरी हाइब्रिड मकै लगाएका किसानलाई पाकेको बाली भित्र्याउन समस्या भइरहेको छ ।
दिन बिराएरजसो पानी पर्दा मकै भाँच्न, थ्रेसर लगाउन तथा सुकाउन समस्या परेको किसानहरूको गुनासो छ । भिजेको मकै बिक्री नहुने भएकाले किसान थप मारमा परेका छन् ।
सर्लाहीमा अझै धेरै किसानले मकै बाली भित्र्याउन बाँकी छ । यस वर्ष चैतदेखि नै बेमौसमी वर्षा भइरहँदा खोलाको बगर हुँदै यातायात सञ्चालन हुने सर्लाहीको चुरे क्षेत्रका सडकमा नियमित सवारी सञ्चालनसमेत प्रभावित भएको छ ।
एक सातादेखि पानी रोकिएपछि लालबन्दी बजारबाट खोलैखोला हुँदै सिन्धुलीको मरिणसम्म बस सञ्चालन गर्ने तयारी भइरहेका बेला आइतबार दिउँसो परेको ठुलो वर्षाले खोलाको बाटो बिगारेको लालबन्दी नगरपालिका–१४, नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले बताउनुभयो ।
बेमौसमी वर्षाका कारण महेन्द्र राजमार्ग विस्तारसहित अन्य निर्माणका कामसमेत प्रभावित बनेका छन् । आइतबार दिउँसो बदली भएर वर्षा भएको सर्लाहीमा सोमबार बिहानदेखि भने मौसम सफा रहेको छ ।