• ४ जेठ २०८३, सोमबार

दुई वर्षदेखि सिँचाइ ठप्प, ५० केभी ट्रान्सफर्मर माग

blog

ट्रान्सफर्मर उपलब्ध गराउन माग गर्दै स्थानीय कृषक । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, जेठ ४ गते ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–१२, जहदा पजरकट्टीका स्थानीय कृषकले कृषि सिँचाइका लागि तत्काल ५० केभी क्षमताको ट्रान्सफर्मर उपलब्ध गराइदिन नेपाल विद्युत् प्राधिकरणसँग माग गरेका छन् ।

करिब दुई वर्षअघि स्थानीय डिप ट्युबवेलको ट्रान्सफर्मर चोरी भएपछि सो क्षेत्रमा सिँचाइ कार्य पूर्ण रूपमा ठप्प भएको भन्दै कृषकले आफ्नो क्षेत्रबाट निर्वाचित संघीय सांसद विक्रम खनालमार्फत प्राधिकरणको केन्द्रीय कार्यालयमा सामूहिक निवेदन पठाएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशकलाई सम्बोधन गर्दै बुझाइएको मागपत्रमा ट्रान्सफर्मर अभावका कारण लामो समयदेखि डिप ट्युबवेलमार्फत खेतीपाती गर्न नपाइएको उल्लेख गरिएको छ । यसबाट जल उपभोक्ता तथा कृषकलाई ठुलो आर्थिक क्षति र असुविधा पुगेको कृषकहरूको भनाइ छ ।

स्थानीय कृषक गिरीसबहादुर चौधरी, अनिरुद्ध चौधरी, अनिरुद्ध हरिजन, इस्लाम मुसलमान र प्रेमबहादुर चौधरीलगायतको संयुक्त हस्ताक्षरमा बुझाइएको पत्रमा कृषि कार्य सहज बनाउन तथा कृषकको जीविकोपार्जनलाई ध्यानमा राखी यथाशीघ्र ५० केभीको ट्रान्सफर्मर जडान गरिदिन आग्रह गरिएको छ ।

लामो समयसम्म सिँचाइ सुविधाबाट वञ्चित हुँदा राष्ट्रिय उत्पादनमै असर पुग्ने भन्दै स्थानीयले यस विषयमा प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।