• ४ जेठ २०८३, सोमबार

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

blog

डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, जेठ ४ गते । 
पालिकाभित्र खोप लगाउने उमेर पुगेका तर खोप लगाउन छुटेका सबै बालबालिकालाई खोजी गरी खोप लगाइएपछि बाँकेको डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

डुडुवा गाउँपालिकामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख चौधरीले समुदायमा अझै पनि खोपप्रतिको चेतनाको कमी रहेको भन्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको सामूहिक पहल आवश्यक रहेको बताउनुभयो ।

उहाँले समुदायमा खोप सेवाबाट कुनै पनि बालबालिका वञ्चित हुन नदिन पालिका प्रतिबद्ध हुनुपर्नेमा जोड दिँदै प्रत्येक बालबालिकालाई खोप सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्वास्थ्य क्षेत्रलाई पालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको उल्लेख गर्दै देशका भविष्य बालबालिकालाई स्वस्थ राख्न खोप अनिवार्य आवश्यक रहेको बताउनुभयो ।

पालिकाभित्र रहेका १५ वर्षमुनिका १ हजार ५२ जना र १६ देखि २३ महिनाभित्रका ८३१ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै आवश्यक खोप प्राप्त गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, डुडुवा गाउँपालिका–३ का वडा अध्यक्ष आमोद तिवारी, प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डे, वडा सदस्य सुष्मा यादव, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत देवनारायण उपाध्याय, नेपाल पत्रकार महासंघका अध्यक्ष नवीन गिरीलगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा सेवा निवृत्त भएका पाँच जना कर्मचारीलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुनेमा सिनियर अनमी संगीता वर्मा, पवनकुमारी बाहुनी, सुमनलता सिंह, खड्गनाथ सापकोटा र महिला स्वयंसेविका प्रेमकुमारी अधिकारी रहनुभएको छ ।

त्यसैगरी पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न योगदान पुर्‍याउने स्वास्थ्य केन्द्रका प्रमुख तथा सबै महिला स्वास्थ्य स्वयंसेविकालाई पनि सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताउनुभयो ।