ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ ४ गते । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा पशुपालन गर्ने कृषकका घरदैलोमै पुगेर निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरिएको छ । शिविरमा ७७ जना कृषकका करिब तीन हजार पाँच सय पशुपन्छीको स्वास्थ्य परीक्षण, उपचार तथा औषधी वितरण गरिएको हो ।
आइतबार आयोजित शिविरमा ७७ जना कृषकका करिब तीन हजार पाँच सय पशुपन्छीका लागि औषधी वितरण गरिएको नगरपालिकाका सहायक पशु चिकित्सक प्रदीप गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा गाई, भैँसी, बाख्रा, कुखुरा लगायतका पशुपन्छीको स्वास्थ्य परीक्षण, उपचार तथा औषधी वितरण गरिएको छ ।
शिविरमा नगरपालिकाका पशु चिकित्सक डा. सुदीप पौडेल, सहायक पशु चिकित्सक गौतम, प्राविधिक सूर्यलाल नेपाली, हरिकृष्ण पौडेल, महित मल्लिक तथा प्रशिक्षार्थी प्राविधिक करुणा पुन र भूमिका पुनले पशुपन्छीको उपचार तथा कृषकलाई औषधि वितरण गर्नुभएको थियो ।
ग्रामीण क्षेत्रमा पशुपालन गर्ने कृषकलाई घरदैलोमै औषधी तथा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको नगरपालिकाका पशु चिकित्सक पौडेलले बताउनुभयो । उहाँका अनुसार शिविरमा कृषकलाई पशुपालनसम्बन्धी प्राविधिक परामर्शसमेत प्रदान गरिएको थियो ।
शिविरमा आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण र बाँझोपन निवारणका औषधी वितरण गर्नुका साथै पाचक, क्याल्सियम, मिनरल लगायतका औषधी पनि वितरण गरिएको थियो ।
शिविरका क्रममा भकिम्लीका विभिन्न टोलबस्तीमा पशु प्राविधिकको टोलीले घरदैलोमै पुगेर पशुको स्वास्थ्य परीक्षण, उपचार, गर्भ परीक्षण तथा गाईभैँसीको पेटमा किलाकाँटी भए/नभएको परीक्षण गरेको थियो । साथै गाईभैँसी र बाख्रामा देखिने जुम्रा, किर्ना, उपियाँ, लुतोलगायत समस्याको पनि उपचार गरिएको थियो ।
भकिम्लीका किसानले व्यावसायिक रूपमा बाख्रा, कुखुरा तथा गाईभैँसी पालन गर्दै आएका छन् । नयाँ कृषकमा प्राविधिक ज्ञानको अभावका कारण पशुपन्छीको स्वास्थ्य उपचारबारे पर्याप्त जानकारी नभएको अवस्थामा शिविरले औषधी उपचारसँगै प्राविधिक परामर्श सेवा उपलब्ध गराएर लाभ पुगेको वडा अध्यक्ष पदमबहादुर पुनले बताउनुभयो ।