काठमाडौँ, वैशाख २३ गते । छिमेकी भारतमा कलाकारप्रतिको ‘क्रेज’ थामिनसक्नुको छ । कलाकारलाई देवता झैँ पुज्ने भारतमा कलाकार बिरामी हुँदा वा दुर्घटनामा घाइते हुँदा उनीहरूको कामनाका लागि ठुला पूजा मात्र होइन व्रत नै बस्ने गरिन्छ ।
यही क्रेजको फाइदा उठाउँदै कतिपय कलाकार राजनीतिमा छिरेका छन् । पर्दाको नायकीपनलाई कतिपयले राजनीतिक जीवनमा सफल बनाएका छन् भने कतिपयले असफल । बलिउडका सुपरस्टार अभिताभ बच्चन मात्र होइन, राजेश खन्ना, विनोद खन्ना, शत्रुघन सिन्हा, हेमा मालिनी, गोविन्दा हुँदै कङ्गना रनावतसम्म आइपुग्दा बलिउडका कलाकारको राजनीतिप्रति झुकाव देखिन्छ । बलिउड मात्र होइन दक्षिण भारतीय चलचित्रका कलाकार बलिउडभन्दा अझ एक कदम अघि देखिएका छन् । उनीहरू भारतीय लोक सभामा होइन विधान सभामै
उठेर मुख्यमन्त्रीसम्म भएका छन् । दर्शकप्रति उनीहरूको क्रेजले उनीहरूलाई राजनीतिको शिखरमा पु¥याएकोमा दुईमत छैन । विगतमा एमजिआर अर्थात्, एमजी रामाचन्द्रन, एम. करुणानिधि, जयललिता, एनटी रामाराव, चिरञ्जीवी जस्ता सुपरस्टारले राजनीतिमा राम्रो पकड बनाएका थिए । यही क्रममा थपिएका छन् तमिलनाडुका सुपरस्टार जोसेफ विजय ।
अभिनयबाट राजनीतिमा प्रवेश गर्नुभएका विजय नेतृत्वको तमिलागा भेत्री कजङ्गम (टिभिके) ले २३४ विधान सभा सिटमध्ये १०८ सिट जित्नुभएको छ । चुनावी अभियानमा ‘विजय आउने छन्’ नारालाई अन्य दलले सामान्य ठाने तर नतिजा नसोचेको आयो ।
अभिनेता जोसेफ विजयको तमिलगा भेत्री कजङ्गम (टिभिके) पार्टीको आगमनले दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीति अहिले चर्चाको विषय बनेको छ । टिभिकेले यो निर्वाचनमा राज्यको सबैभन्दा ठुलो दल बनेर चलचित्रका कलाकार पनि राजनीतिमा ठुलो स्टार बन्न सक्छ भन्ने प्रमाणित गरेको छ । योसँगै तमिलनाडुले छैटौँ पटक चलचित्र क्षेत्रबाट आएका व्यक्तिलाई मुख्यमन्त्रीका रूपमा पाउने भएको छ । अप्रिल २३ मा सम्पन्न निर्वाचनमा ८५ प्रतिशतभन्दा बढी मतदान भएको थियो ।
सन् १९७४ जुलाई २२ मा चेन्नईमा जन्मिनुभएका विजयको पूरा नाम जोसेफ विजय चन्द्रशेखर हो । बाबु एसए चन्द्रशेखर तमिल चलचित्रका चर्चित निर्देशक र आमा शोभा एक गायिका हुनुहुन्थ्यो । पारिवारिक पृष्ठभूमि नै चलचित्र क्षेत्र रहेको विजयले बाल्यकालबाट चलचित्रमा अभिनय गर्न सुरु गर्नुभएको थियो । उहाँका बुवाले नै उहाँलाई ‘भेट्री’ नामको चलचित्रमा बालकलाकारका रूपमा अभिनय गराउनुभएको थियो । उहाँले आफ्नै आमाले लेख्नुभएको चलचित्र ‘नालैया थीरपु’ १९९२ बाट चलचित्रमा मुख्य भूमिकामा प्रवेश गर्नुभएको हो ।
उहाँले हास्यप्रधान र सामाजिक विषयवस्तुमा आधारित चलचित्रमा काम गर्नुभयो । त्यसपछि एउटा साधारण नायकबाट ‘थलापथी’ मुख्य अभिनेताका रूपमा भारतीय चलचित्र क्षेत्रमा आफ्नो पहिचान बनाउन सुरु गर्नुभयो । ‘गिल्ली’ जस्ता सुपरहिट सिनेमाले उनलाई ‘मास हिरो’ को छवि दियो । उहाँ अभिनीत ‘कथी’ ले आफ्नो अभिनयलाई सामाजिक र राजनीतिक सन्देशसँग जोडे पनि ‘थेरी’, ‘मार्सल’ र ‘बिगिल’ जस्ता चलचित्रले बक्स अफिसमा रेकर्ड बनाएका थिए ।
विजयले राजनीतिमा आउनका लागि आफ्नो अभिनय छाडेको घोषणा गरिसक्नुभएको छ । राजनीतिमा सक्रिय भएपछि अभिनय छोडेर आफूलाई पूर्ण रूपमा समाजसेवामा समर्पित गर्ने उहाँले पहिले नै स्पष्ट पारिसक्नुभएको थियो । सेप्टेम्बर २०२४ मा प्रोडक्सन हाउस केभिएनले ‘थलापति ६९’ विजयको अन्तिम चलचित्र हुने आधिकारिक रूपमा घोषणा गरिसकेको छ ।
एजेन्सीको सहयोगमा