• २३ वैशाख २०८३, बुधबार

रित्तिँदै सामुदायिक विद्यालय, समायोजनतर्फ नगरपालिका

blog

व्यास नगरपालिकाको कार्यालय भवन

अमरराज नहर्की
तनहुँ, वैशाख २३ गते ।
नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना हुन नआएपछि गाउँका सामुदायिक विद्यालय रित्तिँदै गएका छन् । बसाइँसराइँ, निजी विद्यालयप्रतिको आकर्षण र भौगोलिक जटिलताले विद्यार्थी सङ्ख्या घटेपछि व्यास नगरपालिकाले छ वटा प्राथमिक विद्यालय समायोजन गर्ने निर्णय गरेको छ ।

समायोजन प्रक्रियाअनुसार ती विद्यालयमा बाल विकास कक्षा मात्र सञ्चालन हुनेछ भने अन्य कक्षाका विद्यार्थीलाई पायक पर्ने नजिकका विद्यालयमा स्थानान्तरण गरिनेछ । नगरपालिकाका अनुसार वडा नंं. १ को जनसेविका, वडा नं. ५ को मानुङ, वडा नं. ७ को वसन्तकाली, वडा नं. ८ का कृष्णालय र सोमाजन तथा वडा नं. १२ को जनमिलन प्राथमिक विद्यालय समायोजनमा परेका छन् ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेले कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी र कतै शिक्षक अभावले पठनपाठन प्रभावित हुने अवस्था देखिएकाले दरबन्दी मिलानलाई वैज्ञानिक ढङ्गले अघि बढाइएको बताउनुभयो । उहाँका अनुसार यस निर्णयले जनशक्तिको उचित बाँडफाँट भई शिक्षण–सिकाइको प्रभावकारिता बढ्ने अपेक्षा गरिएको छ ।

शिक्षक तथा कर्मचारीको न्यायोचित पदस्थापनाका लागि नगर प्रमुखकै संयोजकत्वमा पाँच सदस्यीय विशेष समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्र दरबन्दी मिलानसम्बन्धी ठोस प्रस्ताव पेश गर्न कार्यादेश दिइएको छ । नगरपालिकाका प्रवक्ता सुरेश थापाले यस प्रक्रियाले सामुदायिक विद्यालयप्रतिको जनविश्वास पुनःस्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।