• २३ वैशाख २०८३, बुधबार

चङ्खेलीको जंगलमा आठ वर्षदेखि बेवारिसे काठ

blog

जंगलमा बेवारिसे अवस्थामा राखिएको काठको थुप्रो। तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, वैशाख २३ गते ।
मुगु जिल्लासँग सीमा जोडिएको चङ्खेली गाउँपालिका–१ को बोहरावाडादेखि चङ्खेली लेकसम्मको जंगल क्षेत्रमा आठ वर्षदेखि काठ बेवारिसे अवस्थामा थुपारिएको छ।

मुगुको गमगढीदेखि देउली हुँदै सलीसल्लासम्म सडक निर्माणका क्रममा नेपाल सरकारको अनुमति लिएर काटिएका रुखको काठ हालसम्म व्यवस्थापन हुन नसक्दा बेवारिसे बनेको हो।

चङ्खेली गाउँपालिका–१ का स्थानीय जनक बोहराले सडक निर्माणका क्रममा काटिएका रुखको काठ आठ वर्षदेखि जंगलमै थुपारेर राखिएको बताउनुभयो। उक्त सडक बेलायती सहयोग नियोगको आर्थिक सहयोगमा र्‍याप थ्री परियोजनाले निर्माण गरेको हो।

मुगु–हुम्ला लिंक रोडअन्तर्गत गमगढी–देउली–सलीसल्ला सडकखण्ड निर्माणका क्रममा २२ हजारभन्दा बढी रुख कटान गरिएको थियो। ती रुखको काठलाई कोलिया बनाएर १९ स्थानमा थुपारेर राखिएको भए पनि हालसम्म व्यवस्थापन हुन नसकेको स्थानीयको भनाइ छ।

“जंगलमा सुरक्षा बिना राखिएकाले केही काठ कुहिसकेको छ भने केही कुहिने अवस्थामा पुगेको छ,” बोहराले भन्नुभयो। उहाँका अनुसार वर्षायामको पानी र हिउँदको हिमपातका कारण काठ बिग्रँदै गएको हो।

चङ्खेली गाउँपालिकाका अर्का स्थानीय प्रेमबहादुर शाहीले सडक छेउमै रहेका काठ उपयोग गर्न नसक्दा राज्यलाई आर्थिक क्षति पुगेको बताउनुभयो। “प्रक्रिया पूरा गरेर ती काठको सदुपयोग गर्न सकिन्थ्यो, तर त्यसतर्फ ध्यान नदिनु डिभिजन वन कार्यालयको लापरवाही हो,” उहाँले भन्नुभयो।

कटान गरिएको काठ डिभिजन वन कार्यालय ले बुझिसकेको भए पनि व्यवस्थापनका लागि ठोस योजना अघि नबढाएको स्थानीयको गुनासो छ। कार्यालयले भने अब काठ व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइने जनाएको छ। यसअघि किन व्यवस्थापन हुन नसकेको भन्नेबारे भने कार्यालयले स्पष्ट जानकारी दिएको छैन।