• ४ जेठ २०८३, सोमबार

एक दिवसीयमा सन्दीपको विश्व कीर्तिमान

blog

बलिङ गर्दै सन्दीप लामिछाने। तस्बिर : क्यान

काठमाडौँ, जेठ ४ गते । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाउनुभएको छ ।

नेपाली टोलीका पूर्व कप्तानसमेत रहनुभएका सन्दीपले सर्वाधिक छिटो एक सय ५० विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाउनुभएको हो ।

घरेलु मैदान कीर्तिपुरमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध तीन विकेट लिएसँगै सन्दीपले आफ्नो नाममा विश्व कीर्तिमान रच्नुभयो ।

सन्दीपले यसअघि अस्ट्रेलियाका मिचेल स्टार्सको नाममा रहेको कीर्तिमान तोड्नुभएको हो । मिचेलले यसअघि सन २०१९ मा ७७ खेलमा एक सय विकेटको कीर्तिमान बनाउनुभएको थियो । सन्दीपले ७३ खेलमा एक सय ५० विकेट लिँदै स्टार्सको कीर्तिमान तोड्न सफल हुनुभयो ।

सन्दीपले यसअघि नै एक दिवसीयमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान आफ्नो नाममा राख्नुभएको छ । सन्दीपले एक दिवसीयमा व्यक्तिगत सर्वाधिक ६ विकेट भने सन् २०२१ को विश्वकप लिग–२ कै सिरिजमा पिएनजीविरुद्ध लिनुभएको थियो ।

सोमबार स्कटल्यान्डविरुद्ध तीन विकेट लिनेक्रममा सन्दीपले पूरा १० ओभर बलिङ गर्दै ४७ रन खर्चिनुभयो । यस खेलमा अर्का बलर ललित राजवंशीले आठ ओभरका ३२ रन खर्चिएर सर्वाधिक चार विकेट लिनुभयो ।