काठमाडौँ, फागुन २४ गते । कलाकारको मनभित्र गुम्सिएर बसेको भावना व्यक्त गर्ने माध्यम हो ‘अन्तर्दृष्टि’ । जसलाई कलाकार आफैँले आफ्नो मनसँग सोधेर बनाएको एउटा विचार पनि भन्न सकिन्छ । अर्को अर्थमा भन्नु पर्दा मनभित्रको विचार । यही मनभित्रको विचारलाई पोख्न ठमेलस्थित छाया सेन्टरमा सङ्गी श्रेष्ठका ‘अन्तर्दृष्टि’ शीर्षकमा एकल कला प्रदर्शनी भइरहेको छ ।
कला जगत्मा तीन दशकभन्दा बढी समय बिताउनुभएकी कलाकार श्रेष्ठले आफ्नो जीवनको सबैभन्दा अँध्यारो समयलाई आत्मखोज र उद्देश्यको यात्रालाई कलामार्फत रूपान्तरण गर्न खोज्नुभएको छ । विगत दुई वर्षमा उहाँले सिर्जना गर्नुभएको ११६ कलाकृति प्रदर्शनीमा राखिएका छन् । प्रत्येक कृतिले उहाँको लचिलोपन, उपचार र दिशाको नवीकरण गरिएको भावनालाई प्रतिविम्बित गर्दछ । उक्त कृतिले कसरी रचनात्मकताले प्रतिकूलतालाई सुन्दरतामा रूपान्तरण गर्न सक्छ भनेर शक्तिशाली रूपमा अन्वेषण गर्न खोजिएको छ । गहिरो अभिव्यक्तिपूर्ण काममार्फत प्रदर्शनीले कला कसरी उपचार शक्ति बन्छ र पीडालाई जीवनको अर्थमा परिणत गर्छ भनेर प्रकट गरिएको छ ।
प्रदर्शनमा रहेका प्रत्येक चित्रले रूपान्तरण र जीवनको गहिरो अर्थलाई प्रतिविम्बित गर्दछ । श्रेष्ठले कलामार्फत जीवनका गहिरा सत्यलाई व्यक्त गर्न खोज्नुभएको छ । प्रदर्शनीमा सबै चित्रमा आकृतिका रूप देखिन्छ जुन हस्ताक्षर शैलीमा बनेका छन् । उहाँ कहिलेकाहीँ उक्त आकृतिलाई अनुहार वा शरीरको जस्तै आकार दिनुहुन्छ, जसले मानिसले आफ्ना भावना कसरी लुकाउँछन् भन्ने कुराको प्रतीक गराउँछ । उक्त आकृतिभित्र उहाँले राख्ने कालो रङ वा थोप्लाले सीमा र व्यक्तिभित्र लुकेका भावनालाई प्रतिनिधित्व गर्दछ । उहाँको कामका अर्को आकृति आधा खुला आँखा हो, जसले मानिसलाई आफ्नाबारेमा मात्र होइन अरूका बारेमा पनि हेर्न र सोच्न सुझाउँछ ।
तीन वर्षअघि आमाको मृत्युले उहाँलाई गहिरो प्रभाव पा¥यो र जीवनका बारेमा उहाँको बुझाइ नै परिवर्तन भयो । आफ्नी आमाको पीडा देखेर नै उहाँ जीवनको वास्तविक अर्थ बुझ्न प्रेरित हुनुभयो । आमाको मृत्युपछि चित्र बनाउन खोज्दा उहाँका हात काँप्थे । उहाँले पीडा महसुस गर्दा भगवान्लाई सम्झिनु हुन्थ्यो । विस्तारै उहाँले कलालाई नै भगवान्का रूपमा हेर्न थाल्नुभयो । “मेरो लागि कला भगवान् हो,” उहाँले भन्नुभयो । त्यसपछि उहाँले आमाको रूपलाई प्रतिनिधित्व गर्ने कलाकृति सिर्जना गर्न थाल्नुभयो ।
उहाँले ताराका विभिन्न रूप सिर्जना गर्नुभयो । उहाँका कलमका स्केचले गहिरो महत्व बोकेका छन् । रेखाले उहाँलाई पीडाबाट मुक्ति व्यक्त गर्न अनुमति दिन्छ भन्ने उहाँको विश्वास छ । उहाँका चित्रमा भगवान् र मानवबिचको सम्बन्धलाई सुन्दर ढङ्गले चित्रण गर्न खोजिएको छ । उहाँ भन्नुहुन्छ, “आधुनिक जीवनले यो आध्यात्मिक सम्बन्धलाई कमजोर बनाएको छ र कलामार्फत मानवतालाई दिव्यसँग पुन ः जोड्न खोज्दै छु ।” ‘अन्तर्दृष्टि’ राख्नुका कारण “हरेक कुरालाई हामीले भित्री मनदेखि हेरम् भन्ने हो,” उहाँले भन्नुभयो । उहाँले कलामा सिरेमिक र कोलाज सिर्जना गर्नुभएको छ । साथै कलामर्फत प्रकृतिसँग जोडिएका उमङ्ग झल्किने पात, फूल, पुतलीसमेत रङका माध्यमबाट सुन्दरसँग संयोजन गर्नुभएको छ ।
देवीदेवताको मनमोहक रूप, आकर्षक ढङ्गले बसेका अवयव उहाँका कलामा झल्कन्छ । श्रेष्ठ भन्नुहुन्छ, “कलामा कोमल शक्ति हुनु पर्छ, आँखालाई मनपर्ने मात्र होइन भित्रबाट जीवनलाई रूपान्तरण गर्न पनि सक्षम ।” सन् २००९ मा उहाँको पहिलो एकल कला प्रदर्शनी भएको थियो । यसपछि दुई÷तीन हुँदै यो चौथो एकल कला प्रदर्शनी हो । द कला सालोनमा भइरहेको उक्त प्रदर्शनी चैत ११ गतेसम्म चल्ने छ ।