जनार्जन खत्री
सर्लाही, वैशाख ६ गते । सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साह कलवार र जिल्लाका सुरक्षा प्रमुखहरूले आइतबार लखन्देही खोलाको कटान क्षेत्र र बागमती खोलाको उत्खनन क्षेत्रमा निरीक्षण गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य साह, सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियासहितको टोलीले आइतबार बिहान चक्रघट्टा गाउँपालिकास्थित लक्ष्मीपुर सुखचैना र बेल्ही गाउँमा लखन्देही खोला पसेर बर्सेनि कटान गर्ने क्षेत्रको निरीक्षण गर्नुभएको हो ।
उहाँहरूलाई स्थानीय बासिन्दा र चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले लखन्देही खोलाको बाढी पसेर हरेक साल गर्ने क्षति र तटबन्ध नहुँदा भोग्नुपरेको समस्याबारे जानकारी गराउनुभएको छ ।
लखन्देही खोलाको कटान क्षेत्रको निरीक्षणपश्चात सांसद, सिडिओसहितले आइतबार मध्यान्ह बरहथवा नगरपालिका-१, हजरियास्थित हरैया भाबरी घाटमा भइरहेको अवैध उत्खननको निरीक्षण गर्नुभएको छ ।
अनेक प्रयास गर्दा पनि सो क्षेत्रमा रौतहट तर्फबाट भइरहेको अवैध उत्खनन रोक्न नसकिएकोबारे स्थानीय वासिन्दा, जनप्रतिनिधि र पालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले प्रतिनिधि सभा सदस्य साह र प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरूलाई अवगत गराउनुभएको छ ।
सो टोलीले आइतबार मध्यान्ह नै बागमती नदीकै खर्साल घाट र कर्मैयास्थित भरत ताल नजिकै भइरहेको उत्खननको समेत निरीक्षण गरेको छ । नदीहरूको निरीक्षणपश्चात स्थानीयले दुर्गन्ध र झिङ्गा फैलिएर बस्नै नसक्ने अवस्था आएको भनी गुनासो गरिरहेको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योग परिसरमा रहेको अमराबती डिस्टिलरी क्षेत्रको समेत अनुगमन गरेको छ ।
सो डिस्टिलरी र चिनी उद्योगको गन्धले झिङ्गा लागेर घरमा बस्नै नसक्ने अवस्था आएको भन्दै स्थानीयले केही दिनअघि चिनी उद्योग प्रशासन र हरिवन नगरपालिका कार्यालय परिसरमा धर्ना दिँदै ज्ञापन पत्रसमेत बुझाएका थिए ।
अनुगमनपश्चात प्रतिनिधि सभा सदस्य साहसहितको टोलीले जिल्लाका खोलानाला तथा नदीहरूमा भइरहेको अवैध उत्खनन नियन्त्रण र सीमा क्षेत्रमा स्थानीय बासिन्दाले भोग्नुपरेको समस्या समाधानको माग गर्दै प्रमुख जिल्ला अधिकारी कडरियालाई ज्ञापन पत्र बुझाएको छ ।
अनुगमनमा सर्लाहीका चारवटै सुरक्षा निकायका प्रमुखहरूको समेत सहभागिता रहेको थियो ।