हरिप्रसाद कोइराला
उर्लाबारी, वैशाख ६ गते । मोरङको लेटाङ–१, राजारानी पर्यटन क्षेत्रमा अन्तर धार्मिक शान्तिपार्क निर्माण भएको छ । पाँच धर्मका धर्म गुरुहरू एकै स्थानमा बसेर धर्मका विभेद अन्त्य गर्ने अवधारणाका साथ निर्माण सुरु भएको शान्तिपार्क लेटाङ नगरपालिकाको गौरवको आयोजना हो ।
नगरपालिकाले आगामी बुद्ध जयन्तीको अवसरमा पार्कको उद्घाटन गर्ने तयारी भइरहेको जनाएको छ । शान्तिपार्क निर्माण गर्न नगरपालिकाले आर्थिक वर्ष २०८०–८१ मा १ करोड रुपियाँ विनियोजन गरेको थियो । नगरको वडा नं. १ राजारानीमा निर्माण भइरहेको यो पार्कमा संसारभर मानिने प्रमुख धर्मका गुरूहरूलाई एउटै स्थानमा बसेर अन्तरधर्मका विषयमा छलफल र बहस गर्ने वातावरण जुटाउने छ ।
तत्कालीन लेटाङ भोगटनी नगरपालिका हुँदा एक नगरपालिका एक पहिचान कार्यक्रम अन्तर्गत २०७२ मा ऐतिहासिक राजारानी पोखरी परिसरमा अन्तरधार्मिक शान्तिपार्क निर्माण गर्ने कार्यक्रम तय भएको थियो । बजेटको अभावमा शान्तिपार्क निर्माणको काम अघि बढ्न सकेको थिएन ।
नगर प्रमुख भूपेन्द्रकुमार लावतीका अनुसार नगरपालिकाले ६ करोड ८ लाख रुपियाँको लागत परियोजना निर्माण गरी सङ्घीय सरकारमा पठाएको थियो । सङ्घीय सरकारको ६५ प्रतिशत र लेटाङ नगरपालिकाको ३५ प्रतिशत लागत साझेदारीमा अन्तरधार्मिक शान्तिपार्क निर्माण सुरु भई हाल निर्माणको अन्तिम चरणमा नगर प्रमुख लावतीको भनाइ छ ।
शान्तिपार्कका ६ कट्ठा जग्गा निर्माण भएको छ । ५ करोड २९ लाख रुपियाँमा फुलमन डिप्लोपर्स प्रालिले ठेक्का लिएको शान्तिपार्क निर्माणको काम ३ वर्षभित्र सम्पन्न गर्ने सर्त थियो । जस अनुसार निर्धारित समयमा नै काम सकिएको वडा १ का वडाध्यक्ष विष्णुबहादुर मगरले बताउनुभयो ।
हिन्दु, बौद्ध, मुस्लिम, किरात र इसाई धर्मका धर्मगुरुहरू एउटै मञ्चमा बसेर अन्तरधर्मका विषयमा बहस गर्न सकुन् भन्ने उद्देश्यले शान्तिपार्क निर्माण गर्न लागिएको सामुदायिक विकास मञ्च नेपाल (सिडीएफ)का अध्यक्ष रामचन्द्र बुढाथोकीले बताउनुभयो ।
अन्तर धार्मिक शान्तिपार्कको ‘मिनियचर’ (नमूना) माथि सबै धर्मका गुरूहरूको साझा धारणा निर्माण भएपछि शान्तिपार्क निर्माणको अवधारणा आएको सिडिएफ नेपालका तत्कालीन निर्देशक एवं हालका नगर प्रमुख भूपेन्द्रकुमार लावतीको भनाइ छ । मिनियचरका कल्पनाकार कलाकार विक्रमश्रिले शान्तिपार्क सबै धर्मावलम्वीहरूको साझा धरोहर बन्ने उल्लेख गर्दै पार्कले लेटाङलाई नयाँ धार्मिक पर्यटकीय गन्तव्य बनाउने बताउनुभयो ।
मन्दिर डाँडामा निर्माण गरिएको शान्तिपार्कको भ्यूटावरबाट तराईको दृश्यावलोकन गर्न सकिन्छ । पार्कमा पाँच धर्मका अलग–अलग पाँचद्वार राखिएका छन् । चार तले उक्त पार्कमा हरेक धर्मले आफ्नो द्वारबाट प्रवेश गरेपछि आफ्ना धर्मग्रन्थ, सांस्कृतिक पहिचान खुल्ने सामग्री र धर्मका हांँगाबिँगाको झलक हेर्न पाउने छन् । सबैभन्दा माथिल्लो तलाबाट वरिपरि घुमेर दृष्यावलोकन गर्न सकिने छ ।
संसारभर धर्मको नाममा लडाइँ चलिरहेको बेला लेटाङले निर्माण गरेको अन्तरधार्मिक शान्तिपार्कले सबै धर्मावलम्वीलाई एकै स्थानमा जोड्ने र विभेदको अन्त्य हुने स्थानीयले अपेक्षा गरेका छन् ।