बोमलाल गिरी
नवलपुर, वैशाख ६ गते । नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रलाई फोहोरमैला र प्लास्टिकमुक्त बनाउने उद्देश्यले सरसफाइ गरिएको छ ।
नवलपुरको देवचुली नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्ज, सामुदायिक तथा मध्यवर्ती वनहरू, होटल होमस्टे पर्यटन विकास समिति, नेपाल प्रहरी, नेपाली सेना लगायतसँग सहकार्य गरी सरसफाइ गरेको हो ।
३१औं वन्यजन्तु सप्ताहको अवसर पारेर देवचुली–१७ को पिप्रहर क्षेत्रमा नदीनाला र वन जंगललाई प्लास्टिक र फोहोरमैलामुक्त गराउने उद्देश्यले सरसफाइ गरिएको नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो ।
प्लास्टिकले मानव जीवन र वन्यजन्तुलाई प्रत्यक्ष नकारात्मक असर गर्ने गरेकोले आइन्दा जथाभाबी फोहोर फाल्न हुन्न भन्ने सन्देश पनि दिन खोजिएको न्यौपानेले बताउनुभयो । सरसफाइमा झण्डै एक सय ५० जनाको सहभागिता रहेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख, वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले वन्यजत्नु र उनीहरूको वासस्थानमा सबैभन्दा बढी प्लास्टिकजन्य फोहोर रहेकाले त्यसले दिर्घकालसम्म पार्न सक्ने असरलाई ध्यानमा राखेर सरसफाइ अभियान चलाइएको बताउनुभयो । उहाँले पहिलो चरणमा भइरहेको फोहोर व्यवस्थापन गर्ने र आगामी दिनमा फोहोर हुनै नदिने गरी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
देवचुलीमा रहेको सिजी उद्योगको भुसे ब्वोइलरबाट निस्केको धुलो र खरानीले वातावरण प्रदूषण गरेको र बियर कारखानाबाट निस्केको केमिकल मिश्रित पानीले नारायणी नदी नै प्रदुषित बनाएको स्थानीयको भनाइ छ ।
केमिकल परीक्षणमा पनि नारायणीमा उद्योगको फोहोर पानी भेटिएको देखिएकाले उद्योगलाई सजकता अपनाउन पनि डा. पन्तले आग्रह गर्नुभएको छ ।