बौद्ध धर्म भन्नेबित्तिकै सिद्धार्थ गौतमको नाम लिइन्छ तर बौद्ध धर्मका अनुयायी वा बौद्ध शिक्षाका जानकारले भने गौतम बुद्ध अघि र पछिका बुद्धबारे पनि चर्चा गरेको पाइन्छ । सत्ययुग, त्रेतायुग, द्वापरयुग र वर्तमान कलियुगमा सात बुद्धको जन्म भइसकेको र अब गौतम बुद्धको शासनकालपछि मैत्रीय बुद्ध आउने छन् भन्ने पनि मानिएको छ । बौद्ध धर्मका केही सम्प्रदायमा गौतम बुद्धअघि अरू धेरै बुद्ध थिए भन्ने विश्वास गरिन्छ । कतै कतै उनीहरूका नाम पनि उल्लेख गरिएको पाइन्छ । कतिपय बौद्ध ग्रन्थले समेत गौतम बुद्धभन्दा अघिदेखि नै बौद्ध धर्मको निरन्तरता हुँदै आएको भन्ने माने पनि कति बुद्ध आए र गए भन्ने विषयमा भने एकै मत भएको पाइँदैन । ऐतिहासिक प्रमाण र बौद्ध ग्रन्थलाई आधार मान्ने हो भने अधिकांश बुद्ध नेपालमा जन्मेका र केही बुद्ध मात्र हालको नेपाल भूमिभन्दा बाहिर जन्मेको उल्लेख गरिएको पाइन्छ । नेपालको कपिलवस्तुमा नै गौतम बुद्धअघि क्रकुच्छन्द र कनकमुनि बुद्ध जन्मेको प्रामाणिक अभिलेख अहिले पनि देख्न सकिन्छ । उपत्यकाको स्वयम्भू, स्वयम्भू पुराण र केही महायानी ग्रन्थसमेतलाई आधार मान्दा विशेष गरी उपत्यका नै बौद्ध धर्म परम्पराको विकसित वा निरन्तरतामा चल्दै आएको स्थल मान्नु पर्छ । यहाँ प्रचलित महायान वा वज्रयान परम्परामा गौतम बुद्धभन्दा अघिका बुद्ध र बोधिसìवहरू धेरैको चर्चा हुनुका साथै पूजा पनि हुन्छ ।
गौतम बुद्धभन्दा अघिको बौद्ध इतिहासका लागि स्वयम्भूको पौराणिक कथालाई ठुलो आधार मानिन्छ । केही बौद्ध मत, वंशावली र स्वयम्भू पुराणका अनुसार गौतम बुद्धभन्दा अघिका मानव बुद्धहरू विपश्वी, शिखि, विश्वभू, व्रmकुच्छन्द, कनकमुनि, काश्यपलगायतका बुद्ध अनि मञ्जुश्री, पद्मसम्भव, नागार्जुनलगायतका धेरै बोधिसìवहरू उपत्यकामा आएको र उनीहरूसँग स्वयम्भूको उत्पत्तिको कथा र काठमाडौँ उपत्यकाको पानी निकास गरेर हालको स्वयम्भू निर्माण भएको जस्ता विषय र अरू प्रसङ्ग जोडिएका छन् । गौतम बुद्ध पनि स्वयम्भूको दर्शन गर्न आएका थिए भन्ने विषय स्वयम्भू पुराणमा उल्लेख छ तर त्यसको ऐतिहासिक पुष्टि भने पाइँदैन । बौद्ध परम्परामा पहिलेका बुद्ध र बोधिसìवको नाम लिए पनि बौद्ध शिक्षाको आधार र मान्यता भने पछिल्लो बुद्धसँग मात्रै जोडिएर मान्ने चलन चलेको देखिन्छ । त्यसैले गौतम बुद्धभन्दा अघिका बुद्धको शिक्षाका बारेमा कतै उल्लेख भएको पाइँदैन । वास्तवमा तिथि, मिति र ऐतिहासिकताका आधारमा गौतम बुद्ध नै पछिल्लो वा प्रामाणिक बुद्ध हुन् । उनको मात्रै ऐतिहासिक र पुराताìिवक प्रमाण आधिकारिक छन् । बुद्धको मूल उपदेश वा उनले प्राप्त गरेका ज्ञान चार आर्यसत्य नै अहिलेको बौद्ध शिक्षा हो ।
गौतम बुद्धको महापरिनिर्वाणपछि बौद्ध अनुयायीले जतिसुकै शाखा वा सम्प्रदाय बनाए वा बने पनि गौतम बुद्धकै शिक्षा वा उपदेश मात्र नै संसारभरका बौद्ध अनुयायीको मार्ग हो । उनको बोधिज्ञान चार आर्यसत्य हो, जुन जन्म, दुःख र दुःख निवारणसँग जोडिएको छ । त्रिरत्न अर्थात् बुद्ध, धर्म र सङ्घ बुद्ध शासनको परम्परा हो । मूल ग्रन्थ त्रिपिटक हो, जसमा बुद्धका उपदेश समावेश भएको सुत्तपिटक, बुद्ध परम्पराको नियम विनयपिटक र बौद्ध दर्शनका कुरा समावेश भएको अभिधम्मपिटक रहेका छन् । यी बुद्ध वचनहरू हुन् र यसको मूल सङ्ग्रह पाली भाषामा छ । उनका उपदेश चार आर्यसत्य, पञ्चशील, अष्टशीललगायतका शील र दर्शन जीवन उपयोगी विज्ञानमार्ग हुन्, जुन अहिले पनि संसारभर फैलिँदैछ ।
शाक्यमुनि बुद्धले बोधिज्ञान प्राप्त गरेपछि करिब ४५ वर्ष पैदलयात्रामा आफ्नो धर्म प्रचार गर्दै बिताए । उनले त्यस बेलाको बोलिचालीको भाषालाई नै धर्म देशनामा प्रयोग गरे । उनकै समयमा या उनको महापरिनिर्वाण हुनुपूर्व शिष्यमा मतान्तर थिएन र यान, वाद, गुट वा सम्प्रदायको विकास भएको पनि मानिँदैन तर त्यसपछि भने मूल सङ्घबाट छुट्टिएर नयाँ सम्प्रदाय बन्न थालेका थिए । इसापूर्व छैटौँ शताब्दीदेखि इसापूर्व तेस्रो शताब्दी वा बौद्ध घर्मका प्रचारक अशोकको समयमा आइपुग्दासम्म अठारभन्दा बढी सम्प्रदाय विकास भएका थिए, जसले मूल सङ्घलाई छाडेनन् । उनीहरू थेरवाद भनिए र अरूलाई महायानमा बुझ्न थालियो । मुख्य रूपमा अहिले थेरवाद, महायान र रमहायानको एक शाखा वज्रयान बढी प्रचलनमा रहेको देखिन्छ । नेपालमा बहुसङ्ख्यक वज्रयानी छन् भने विदेशमा थेरवाद र महायानका अन्य पररम्परा प्रचलनमा छन् । नेपालमा थेरवादको परम्परा पुनस्र्थापित भइरहेको छ । उनले मुख्य रूपमा तीन पटक धर्म चव्रm प्रवर्तन गरेका थिए भनिन्छ । बौद्ध दर्शन वा उपदेशका आधारमा पनि यसलाई विभाजन गर्न खाज्दै पञ्चवर्गीय भिक्षुहरू समक्ष सारनाथमा सम्पन्न भएको प्रथम धर्मचव्रm प्रवर्तनलाई थेरवादसँग जोडिएको छ । त्यसै गरी उनको गृद्धकुटमा भएको दोस्रो प्रवर्तनलाई महायानी बौद्ध धर्मको उपदेशना मान्ने गरिन्छ भने तेस्रो धर्मचक्र प्रवर्तन धान्यकटक पर्वतमा गरिएको भन्दै यो उपदेश वज्रयानी बौद्ध दर्शनसँग सम्बन्धित छ भनिन्छ तर बुद्ध आफैँले यसलाई प्रामाणिक रूपमा कुनै सम्प्रदायसँग जोडेर उल्लेख गरेको कतै भेटिँदैन ।
बुद्धको महापरिनिर्वाणलगत्तै केही भिक्षुले आफूलाई स्वतन्त्र झैँ ठाने र आफ्नो दैनिकीमा विचलन ल्याउन थाले । करिब एक सय वर्षपछि केही भिक्षुले त नयाँ नियम बनाउँदै आफ्नो अनुकूल पालना गर्न पनि थाले, जसले बुद्धको मूल उपदेशमा विकृति ल्याउन सक्नेदेखि त्यसलाई प्रतिबन्ध लगाइयो । उनीहरूलाई मूल सङ्घबाट पनि निकालियो । गौतम बुद्धकै समयको परम्परा वा उनको विनयलाई मानी मूल सङ्घलाई निरन्तरता दिनेहरू स्थवीरवाद वा थेरवाद वा हीनयान भनियो र उनीहरूले पाली भाषाकै त्रिपिटकलाई आफ्नो मूल ग्रन्थ माने, जो परिवर्तित थिए वा विनयलाई समयानुकूल मान्दै परिवर्तनमा लागेका थिए, उनीहरू महासाङ्घिकका रूपमा धेरै गुटमा विभाजित बन्दै गए । समग्रमा उनीहरू महायानी बने । यही महासाङ्घिकका एक पक्ष तन्त्र र मन्त्रसँग परिमार्जित र परिस्कृत भएर वज्रयानी बौद्ध दर्शन फैलिन थाल्यो । उनीहरूका ग्रन्थ संस्कृतमा बन्न थाले । वज्रयानको प्रभाव आठौँ शताब्दीदेखि सुरु भएर १२ औँ शताब्दीसम्ममा भारतमा व्यापक विकास भएको मानिन्छ । यो परम्परा नेपाल, तिब्बत र चीन हुँदै अन्यत्र पनि फैलियो तर अहिले यो परम्परामा धेरै देशमा स्थानीय मौलिकतासँग जोडिएर विकास भएको पाइन्छ । नेपाल, तिब्बत र भुटानमा वज्रयानको प्रष्ट रूप देख्न पाइन्छ । नेपालमा प्रचलित वज्रयान परम्परामा हिमाली क्षेत्रमा तिब्बती स्वरूप बोन परम्परासँग नजिक देखिन्छ । यसलाई हिजोआज हिमाली बौद्ध धर्म पनि भन्न थालिएको छ । उपत्यकामा वज्रयान आफ्नै खालको छ र केही सनातनी परम्परासँग नजिक देखिन्छ, जसलाई नेवारी बौद्ध धर्म पनि भनिन्छ । वज्रयानमा मन्त्र र तन्त्र साधना विधि र कर्मकाण्डी परम्पराले आफ्नो पहिचान बनाएको छ तर बौद्ध धर्मका कुनै पनि निकाय वा सम्प्रदाय त्रिपिटक तिनका निकायभन्दा बाहिर गएर अरू धर्मसँग भने मिल्दैनन् । थेरवादीहरू बुद्धलाई एक महामानव मान्छन् र यो ज्ञान मार्ग हो भन्छन् । महायानीहरू बुद्धलाई अलौकिक देवता मान्छन् र आफ्नो मार्गलाई भक्तिमार्ग ठान्छन् । दुवैको पूजा विधिमा पनि भिन्नता देखिन्छ तर दुवैका परम्परा गौतम बुद्ध र उनको शासन विधिमा हुने बिहार परम्परामा रहने भिक्षु, भिक्षुणी र गृहस्थमा रहने उपासक, उपासिकाकै प्रचलन छन् वा बुद्ध, धर्म र सङ्घ नै सबैको पहिचान हो ।
नेपालमा बौद्ध धर्म र परम्पराको लामो इतिहास भए पनि गौतम बुद्धको समयदेखिका थेरवादीबारे प्राचीन र मध्यकालीन इतिहास प्राप्त गर्ने त्यति धेरै आधार पाइँदैन । विसं ७५० तिरको मानिएको साँखुको एक अभिलेख र केही मध्यकालीन राजाले बिहारमा दान गरेको र भिक्षु भिक्षुणीका प्रसङ्ग पनि उल्लेख गरेकाले थोरबहुत थेरवादीहरू नेपालमा रहेको देखिन्छ । जात र वर्ण विभाजन, नेपालको सनातन परम्परामा भारतीय हिन्दु धर्म परम्पराको प्रभाव बढ्दै गएको र वज्रयानी परम्परामा उपत्यकावासीको सहभागिता बढेसँगै भिक्षु र भिक्षुणी बनी बिहारमा बस्ने थेरवादी प्रचलन जयस्थिति मल्लको समयपछि हराउँदै गयो भनिन्छ । त्यसपछि गौतम बुद्धको शील, समाधि र प्रज्ञाको अभ्यास गर्दै अर्हत वा निर्वाण प्राप्तसम्म पुग्ने बुद्धमतका अनुयायी भेटिनै छाडे । विश्व सङ्गठनका रूपमा परिचित धर्मोदय सभा गठन र यता सन् १९४३ तिर आनन्दकुटी बिहार बनेपछि नेपालमा थेरवादी परम्पराको अभ्यास पुनः सुरु भयो । नेपालमा प्रजातन्त्रको सुरुवातसँगै अर्थात् सन् १९५० पछि थेरवादको विकासमा कुनै रोकतोक छैन । अहिले थेरवादी परम्पराको महìव बढ्दै गएको देखिन्छ । भिक्षु र गुरुमा बन्ने र बिहार निर्माण गर्ने व्रmम पनि बढिरहेको छ ।
नेपालमा प्रचलित वज्रयान, महायान सम्प्रदाय तन्त्रबाट विकसित भएको दर्शन हो, जसलाई गृहस्थमा बसेर नै मान्न सकिन्छ । यो मन्त्रमा आधारित हुन्छ । मन्त्र शक्तिको उपासना यस दर्शनको मुख्य विशेषता हो । जहाँ वज्र र घण्टको महìव हुन्छ । वज्र शून्यताको प्रतीक मानिन्छ भने घण्ट प्रज्ञाको प्रतीक हुन्छ । वज्रयानमा योग, ध्यान, तन्त्र र मन्त्र साधनाका माध्यमबाट मनलाई शुद्ध बनाउँदै बोधिचित्त उत्पन्न गरी बोधिचर्या गर्नु हो भनिन्छ । यसलाई उनीहरू बुद्धत्व प्राप्त गर्ने छोटो मार्ग मान्छन् । नेपालको हिमाली क्षेत्र र उपत्यकामा यसको गहिरो प्रभाव रहँदै आएको छ । दुवै सम्प्रदायले विश्वमा आफ्नो बेग्लै पहिचान बनाएका छन् ।
थेरवादी, क्लेश मुक्त गरी अर्हत् हुन चाहन्छन् भने महायानी आफू पनि बुद्ध हुने चाहना गर्छन् तर गौतम बुद्धको शिक्षा वा उपदेशलाई सबै सम्प्रदाय वा बौद्ध अनुयायीले बौद्धमार्ग वा मध्यममार्ग भनी स्विकार्छन् । थेरवाद र महायान दुवैले बुद्ध गुण, धर्म गुण र सङ्घ गुण बुद्ध शासनको परम्परा मान्छन् । सबै बौद्ध अनुयायीले मूल उपदेश चार आर्यसत्यलाई सर्वश्रेष्ठ सत्य, अष्टाङ्गिक मार्गलाई सर्वश्रेष्ठ मार्ग, वैराग्य धर्मलाई सर्वश्रेष्ठ धर्म र सम्यक सम्बुद्धलाई सर्वश्रेष्ठ मनुष्य मान्छन् । बुद्धको शासनकालमा बुद्ध मूर्ति वा तस्बिर बनाउन बुद्धले अनुमति दिएका थिएनन् । धेरै पछाडिमात्र (दोस्रो शताब्दीतिर) भक्तिमार्गका लागि बुद्ध मूर्ति बन्न थाले । पाँच रङको बुद्ध झन्डा त सन् १८८५ मा बनाइएको हो । यसले सन् १९५२ देखि अन्तर्राष्ट्रिय बौद्ध झन्डाका रूपमा मान्यता पाएको थियो । त्यसअघि बुद्धको सम्झनाका लागि बुद्धको जन्मस्थल लुम्बिनीलगायत बोधिज्ञान प्राप्त स्थल बुद्ध गया, प्रथम धर्म देशना स्थल सारनाथ र महापरिनिर्वाण स्थल कुशीनगर बौद्ध दर्शनको सबैभन्दा पवित्र स्थल हुन् । बुद्धले पनि आफ्नो अन्तिम अवस्थामा आफ्ना अनुयायीलाई आफूलाई सम्झन पर्दा ती स्थान पुग्न सकिने भनी सुझाएको बौद्ध ग्रन्थहरूमा उल्लेख छन् ।