अनिल पराजुली
हेटौँडा, वैशाख १८ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आफ्नो अधिकारसँगै कर्तव्यप्रति सजग रहँदै मुलुकको आर्थिक–सामाजिक रूपान्तरणमा थप ऊर्जासहित लाग्न आग्रह गर्नुभएको छ । मजदुर दिवस, बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै उहाँले यस्ता दिवस तथा पर्वहरूले सबैलाई सकारात्मक ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले श्रमिकहरूको हक, अधिकार र पेशागत मर्यादा सुनिश्चित गर्न हरेक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइने उल्लेख गर्दै श्रमिक वर्गको निरन्तर मेहनत, लगनशीलता र समर्पणबाट उत्पादनशीलता वृद्धि भई राष्ट्रको समृद्धि सुनिश्चित हुने बताउनुभयो । “कुनै पनि राष्ट्रको आर्थिक विकास र समृद्धिको मेरुदण्ड श्रमिकहरूको पसिना, सीप र जागर नै हो,” उहाँले भन्नुभयो ।
त्यसैगरी, शान्ति र अहिंसाका प्रवर्तक गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति (बुद्धत्व) र महापरिनिर्वाणसँग सम्बन्धित यस दिनले सबैलाई सत्य, अहिंसा र करुणाको मार्गमा हिँड्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । विश्वमा बढ्दो द्वन्द्व र अशान्तिका बीच बुद्धका शिक्षा अझ सान्दर्भिक बन्दै गएको उहाँको भनाइ छ । बुद्ध जयन्तीले सबैको मनमा शान्तिको ज्योति प्रज्वलित गरोस् भन्ने उहाँले कामना गर्नुभयो ।
उभौली पर्वबारे उल्लेख गर्दै उहाँले यो किराँत समुदायको महत्वपूर्ण चाड भएको र प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बताउनुभयो । यो पर्व प्रकृतिप्रेम, कृषि संस्कृतिको संरक्षण तथा भूमि र पितृप्रतिको सम्मानसँग जोडिएको उल्लेख गर्दै उहाँले उभौली नयाँ सिजनको सुरुवात, श्रमको सम्मान र सिर्जनाको उत्सव भएको बताउनुभयो ।