• १८ वैशाख २०८३, शुक्रबार

गोठीखोलामा बेलिब्रिज निर्माण तीव्र

blog

गोठीखोलामाथि निर्माणाधीन बेलिब्रिज। तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, वैशाख १८ गते ।
कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका–४ मा पर्ने गोठीखोलामा बेलिब्रिज निर्माण कार्य सुरु भएको छ । गाउँपालिका केन्द्रसमेत रहेको उक्त स्थानमा असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो ।

गोठीखोलामाथि बेलिब्रिज निर्माण कार्य धमाधम भइरहेको हिल्सा–सिमकोट सडक योजनाका इन्जिनियर कुशल भुसालले बताउनुभयो । उहाँका अनुसार हाल पुलका दुवै तर्फ फाउन्डेसन खन्ने कार्य भइरहेको छ भने निर्माण सामग्री संकलनको काम पनि जारी छ ।

हिल्सा–सिमकोट सडक योजनाले गत चैत १० गते बराई कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरी असार २५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको हो । सोहीअनुसार कामलाई तीव्रता दिइएको इन्जिनियर भुसालले जानकारी दिनुभयो ।

३०.४८ मिटर लम्बाइ र ४ मिटर चौडाइको उक्त बेलिब्रिज निर्माणका लागि करिब एक करोड दुई लाख लागत लाग्ने सम्झौता भएको छ ।

निर्धारित समयमै निर्माण सम्पन्न गर्ने उद्देश्यले दुई सिफ्टमा काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि अंगबहादुर सिंहले बताउनुभयो । निर्माण सामग्रीको मूल्यवृद्धिका कारण केही प्रभाव पर्ने देखिए पनि समयमै काम सम्पन्न गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

गत वैशाख २ गते सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले उक्त बेलिब्रिजको शिलान्यास गर्नुभएको थियो । हाल सो खोलामा काठेपुलमार्फत यातायात सञ्चालन हुँदै आएको छ । उक्त काठेपुललाई हिल्सा–सिमकोट सडक योजनाले वर्षमा एक पटक मर्मत गर्दै आएको छ ।