जनार्जन खत्री
सर्लाही, वैशाख १८ गते । पहिलो पटक मधेश प्रदेशमा आयोजित ग्रामीण चलचित्र महोत्सवको समापन गरिएको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठानले सर्लाहीको चन्द्रनगर गाउँपालिकासँग समन्वय गरी पर्यटकीयस्थल नाढीमनताल परिसरमा आयोजना गरेको पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवको बिहीबार साँझ समापन गरिएको हो ।
उत्कृष्ट चलचित्र, कलाकार, निर्देशकलगायतलाई सम्मान गर्दै चलचित्र महोत्सवको समापन गरिएको आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो ।
महोत्सवमा ग्रामीण परिबेसमा बनेका सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र विभिन्न भाषाभाषीका चलचित्र प्रदर्शन गरिएको थियो । त्यसमध्ये उत्कृष्टलाई पुरस्कृत गरिएको हो ।
महोत्सवमा उत्कृष्ट चलचित्र अवार्ड ‘मोहर’ चलचित्रलाई प्रदान गरिएको छ । त्यस्तै, उक्त चलचित्रका निर्देशक ओमप्रतिक गुरुङलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरिएको छ ।
उत्कृष्ट अभिनेताको रुपमा ‘गुन्योचोलो’ का नायक नाजिर हुसेन र उत्कृष्ट अभिनेत्रीको रुपमा ‘कोशेढुङ्गा’ की अभिनेत्री सुरक्षा पन्त सम्मानित हुनुभएको छ । उत्कृष्ट स्क्रृन प्ले समुन्द्र भट्ट र नाजिर हुसेन ‘गुन्योचोलो’, जुरी अवार्ड निर्देशक मिलन तामाङ ‘माइतीघर’, इन्करेज्मेन्ट अवार्ड मन्जिल कुमार ‘कोशेढुङ्गा’, उत्कृष्ट सम्पादक नहकुल खड्का ‘कोशेढुङ्गा’, उत्कृष्ट छाँयाकार बाबु श्रेष्ठ ‘कोशेढुङ्गा’, उत्कृष्ट आदिवासी चलचित्र किरण राई निर्देशित ‘नाक्छोङ्ग’ र उत्कृष्ट सर्ट फिल्म अवार्ड निर्मल पौडेल निर्देशित ‘निलो आकाश’ लाई प्रदान गरिएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी, चलचित्र निर्माता छवि ओझालगायत भएर अवार्ड हस्तान्तरण गर्नुभएको छ । वैशाख १५, १६ र १७ गते तीन दिन महोत्सवको कार्यक्रम तय गरिए नि पानी र हावाहुरीका कारण अधिकांश कार्यक्रम प्रभावित भएका थिए ।