• १८ वैशाख २०८३, शुक्रबार

व्यवहारमा बौद्ध शिक्षा

blog

नेपालमा सुशासन कायम गर्न कानुनी र नीतिगत सुधारमा सीमित नभई मानिसको नैतिक आचरण र दृष्टिकोणको बहसलाई प्राथमिकता दिनु पर्छ । यस सन्दर्भमा बुद्धले प्रस्तुत गरेका आठ मार्गलाई मानवको उच्च नैतिक आचरणको ढाँचाका रूपमा ग्रहण गर्नु वाञ्छनीय हुन्छ । यी मार्गले मूलतः मानवकर्तामा जवाफदेहिता, पारदर्शिता र दूरदर्शिताको विकास गर्न मद्दत गर्छन् । अनि सामाजिक मनोविज्ञानले पनि सोही अनुरूप उचाइ ग्रहण गर्छ । सामाजिक मनोविज्ञानलाई रूपान्तरण गर्दै सुशासनको यात्रा अगाडि बढाउन सकिन्छ । सार्वजनिक कल्याणको प्रवर्धन सम्भव हुन्छ । त्रिपिटक (बुद्धको शिक्षाको सङ्ग्रह) अन्तर्गतका पुगनपुग ५२ वटा ग्रन्थको साझा सारसङ्क्षेप आर्य अष्टाङ्गिक मार्ग हो । यसमा मूलतः आठ अङ्गलाई उल्लेख गरिएको छ । ती हुन् : सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वाणी, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि । 

सम्यक् दृष्टि शास्त्रीय रूपमा चार आर्य सत्यसँग सम्बन्धित छ, जुन दुःख छ, दुःखको कारण छ, दुःखको अन्त्य गर्न सकिन्छ र दुःखको अन्त्य गर्ने उपाय पनि छ । सांसारिक अर्थमा बुझ्दा जीवनको धरातलीय यथार्थको बोध गर्ने प्रक्रियालाई सम्यक् दृष्टिले समेट्छ । यसले मूलतः समस्याको पहिचान, कारण, समाधान र समाधानको रणनीतिक बाटोलाई जनाउँछ । तथ्यमा आधारित यथार्थवादी नीति निर्माण गर्न सर्वप्रथम मुद्दालाई बुझ्ने दृष्टिकोणमा स्पष्टता र वस्तुपरकता चाहिन्छ । नीतिनिर्णय तथ्यभन्दा बढी मनोगत चिन्तन, राजनीतिक शक्ति वा स्वार्थ समूहको दबाबबाट प्रभावित हुनुहुन्न । सम्यक् दृष्टिले समस्याको जरा पहिल्याउने, त्यसले कहाँ के असर पु-याएको छ भन्ने बुझ्ने, के कस्तो समाधान सम्भव छ र त्यो कसरी गर्ने भन्ने सम्बन्धमा सम्यक् दृष्टिको उपयोगिता रहन्छ । 

सम्यक् सङ्कल्पले चाहिँ नियत वा वैचारिक पक्षलाई बढी जोड दिन्छ । हामी जे सोच्दछौँ, त्यही अनुसार हाम्रो व्यक्तित्व बन्ने हो । आशक्ति, घृणाको भाव, अज्ञान वा भ्रमलाई यथाशक्य न्यूनीकरण गर्न शुद्ध र सकारात्मक सोचलाई आफ्नो मनमा स्थापित गर्नुपर्ने हुन्छ । यसबाट सुशासनका मापदण्ड कार्यान्वयन गर्न मद्दत मिल्छ । नियतले नियतिको निर्माण गर्छ । राजनीतिलाई कस्तो बनाउने भन्ने कुरा नेतृत्वको सोचले धेरै हदसम्म निर्धारण गर्छ, जुन सम्यक् सङ्कल्प अन्तर्गतको विषय हो । चुनावी वा प्रचारप्रसारको राजनीतिमा रुमलिने परिपाटीभन्दा जनकल्याणप्रति प्रतिबद्ध भएर परिणाममुखी राजनीतिको अभ्यास गर्ने अबको दशकको विशेषता बन्यो भने नेपाली समाजको रूपान्तरणले उच्च गति समात्ने छ । यसका निम्ति भएभरको जातको क्लस्टर बनाएर भद्दा प्रकारको जातिवादी नीति अनुसार चल्नुको साटो सम्यक् सङ्कल्प अनुसार जनताको वस्तुपरक राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक सूचकाङ्कका आधारमा प्राथमिकता निर्धारण गरी मानव अधिकारमुखी नीति अपनाउन सके नेपालमा समृद्धि र सामाजिक न्यायले छिटै आकार ग्रहण गर्ने छ । 

त्यस्तै सम्यक् वाणीले मानव सञ्चारसँग सरोकार राख्छ । वैयक्तिक स्तरमा मात्र होइन, सबै प्रकारका सञ्चार व्रिmयाकलापलाई सम्यक् वाणीको सिद्धान्तले समेट्न सक्छ । हिजोआज डिजिटल सञ्चार क्षेत्रमा योजनाबद्ध झुट, सामाजिक र जातीय विभाजन, तुच्छ गालीगलौज र हिंसा भड्काउने अभिव्यक्तिको बाढी आइरहेको पाइन्छ । यी सबको विपरीत नैतिक आचरणयुक्त, सत्य र शालीन सञ्चार गर्नु नै सम्यक् वाणीको ध्येय हो किनभने यसले सबैको कल्याण गर्छ । सम्यक् वाणी सुशासनको अभिन्न अङ्ग हो । पारदर्शी र जिम्मेवार सञ्चार संस्कृतिको विकासमा सरकार, सञ्चार क्षेत्र, दल र नागरिकलगायत सबै सरोकारवाला पक्षको भूमिका हुन्छ । 

अष्टाङ्गिक मार्ग अन्तर्गतको अर्को पक्ष सम्यक् कर्म हो, जसले मानसिक, शारीरिक एवं सञ्चार कर्म सत्य र असल नियतमा आधारित हुनुपर्ने कुरामा जोड दिन्छ । सरल भाषामा भन्नु पर्दा हत्याहिंसा, भ्रष्टाचार वा चोरीडकैती, झुटो सञ्चार, व्यभिचार नगर्ने, मस्तिष्क र शरीरलाई असन्तुलित र नोक्सानी पु-याउने वस्तुको सेवन नगर्ने जस्ता नैतिक आचरणयुक्त व्रिmयाकलापमा सम्यक् कर्मको शिक्षाले विशेष जोड दिन्छ किनभने स्वस्थ मन र स्वस्थ शरीरबाट मात्र सत्कर्मको अपेक्षा गर्न सकिन्छ । सुशासनमा सम्यक् कर्म अनिवार्य हुन्छ । नीतिगत एवं सञ्जालीकृत भ्रष्टाचारको नियन्त्रण, कानुनी शासनको पालना, राजनीतिक शक्तिको सदुपयोग जस्ता गुण सम्यक् कर्मले माग गर्दछ ।  

बुद्धले असल जीवनयापनको पक्षलाई पनि त्यत्तिकै महìव दिएका छन्, जसलाई सम्यक् आजीविका भनिन्छ । इमानदार र नैतिक तरिकाले जीवनयापन गर्न यथाशक्य हानिकारक पेसा वा व्यवसाय नगर्ने शिक्षा उनले दिएका छन् । स्वच्छ बजार, पारदर्शी ठेक्कापट्टा, इमानदार लेखा परीक्षण आदि सम्यक् आजीविका अन्तर्गत पर्छन् भने भ्रष्टाचार, घुसखोरी, कमिसनखोरी, बिचौले धन्दा, तस्करी, हुन्डी कारोबार, जुवा आदि यसका विपरीत हुन् । 

आर्य अष्टाङ्गिक मार्ग अन्तर्गत अर्को महìवपूर्ण अङ्ग सम्यक् व्यायाम हो, जुन मनभित्रका खराब विचारलाई हटाएर तिनका ठाउँमा असल विचारलाई हुर्काउने कसरत हो । मनले निरन्तर पदार्थसँग अन्तव्रिर्mया गरिरहने हुँदा अनेक विचार पैदा भइरहेका हुन्छन्, जसमध्ये कतिपय राम्रा हुन्छन् भने कतिपय नराम्रा । विशेष गरी हाम्रा इन्द्रियले उत्पादन गर्ने संवेदनाले मनलाई निरन्तर प्रभावित पारिरहेका हुन्छन् । यो प्रभावमा पैदा हुने कतिपय राम्रा विचारलाई सँगालेर, संवर्धन गरेर राख्नुपर्ने हुन्छ भने नराम्रा विचारलाई उपेक्षा गर्दै मनबाट विस्थापित गर्नुपर्ने हुन्छ, जुन मूलतः सम्यक् व्यायामभित्र पर्छ । समाज मिश्रित चरित्रबाट निर्मित हुन्छ । देशमा अनेक घटना हुँदै जान्छन् । फरक फरक सूचनाका स्रोत र स्तर एवं नागरिकका आआफ्नै वैयक्तिक खुबी अनुसार विविध प्रतिव्रिmया तरङ्गित भइरहेका हुन्छन् तर पनि ती प्रतिक्रियाका कारण विचलित नभई हरेक क्षेत्रमा रूपान्तरण ल्याउने चेष्टालाई निरन्तरता दिनु सम्यक् व्यायाम हो । 

बुद्धको आर्य अष्टाङ्गिक मार्गले समेटेको अर्को बहुचर्चित मार्ग सम्यक् स्मृति हो । यो चित्तको हरदम सजगता, मनमा पैदा भइरहने विचार, संसारमा वा आफ्नै मनमा घट्ने घटनाप्रति प्रतिव्रिmयात्मक भएर भन्दा साक्षीले परबाट हेरेको जस्तो गरी सचेतापूर्वक अवलोकन गरेर सत्य जान्ने अभ्याससँग सम्बन्धित छ । आफू के गरिरहेको छु, किन गरिरहेको छु, कसरी गरिरहेको छु भन्नेतर्फ सजग बन्ने प्रव्रिmया सम्यक् स्मृति हो । अर्थात, हामीले गर्ने प्रत्येक क्रियाकलापप्रति सजग रहने अभ्यासमा सम्यक् स्मृतिले जोड दिन्छ । हाम्रो मानसिक, शारीरिक तथा सञ्चारजन्य कर्मप्रति सजग रहनु पर्छ । नीति कार्यान्वयनमा निरन्तर अनुगमन, मूल्याङ्कन र आवश्यक सुधारप्रति निष्पक्ष र पूर्वाग्रहरहित ध्यान दिनु सम्यक् स्मृति हो । हिजोआज विपश्यना तथा सम्यक् स्मृति ध्यान संसारभरि प्रचलित छ । 

सम्यक् समाधि चाहिँ यस्तो मार्ग हो, जो आवश्यकताबमोजिम मनलाई गहि-याइमा पु-याएर एकाग्रता र शान्तिमा अडाइराख्ने अभ्यास हो । यो मानसिक संस्कार विकास गर्ने कडी हो । मन बाहिरी संसारमा यत्रतत्र भौँतारिरहेको हुन्छ, तितरबितर भइरहेको हुन्छ । यसलाई गहिरो एकाग्रता र शान्ति चाहिन्छ । एकाग्रता र शान्तिका साथ गरिएको निर्णय र कार्यले आफैँ र अरूलाई पनि कल्याण गर्छ । ब्रह्माण्ड गतिशील छ । सबै चिज निर्माण हुने र विघटन हुने प्रव्रिmयाबाट गुज्रिरहेका हुन्छन् तर मनले भने तटस्थ साक्षी भावले आवश्यकता अनुसार एकाग्रता र शान्तिमा बसेर कार्य गर्नुपर्ने हुन्छ । बुद्धले अरूको निन्दा मात्र गरेर जीवन बिताउनुभन्दा आफँै कुनै असल कामको दृष्टान्त बन्न सुझाएका छन् ।