नवराज नेपाली
बागलुङ (गलकोट), वैशाख १८ गते । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–५ खुंखानीमा पाँच शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ । दुर्गम क्षेत्रका स्थानीयवासीलाई सहज र नजिकबाट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको उक्त अस्पतालबाट अब गाउँमै आधारभूत उपचार सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
हालसम्म सामान्य उपचारका लागि पनि टाढाका सहर धाउनुपर्ने बाध्यता भोग्दै आएका स्थानीयवासीका लागि अस्पताल निर्माणलाई ठूलो उपलब्धिका रूपमा हेरिएको छ । विशेषगरी आकस्मिक सेवा, गर्भवती महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको उपचारमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताउनुभयो ।
खुंखानीमा समाज काठमाडौँ र स्वास्थ्य चौकी व्यवस्थापन समितिको पहलमा स्थानीयबाट २८ लाखभन्दा बढी रकम सङ्कलन गरिएको थियो । सोही रकममध्ये १८ लाख रुपैयाँमा जग्गा खरिद गरी अस्पताल निर्माण सुरु गरिएको हो ।
२०७८ सालमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत निर्माण सुरु गरिएको अस्पतालको काम प्राधिकरणको म्याद सकिएपछि सघन सहरी विकास कार्यालय बागलुङले अघि बढाएको थियो । करिब सात रोपनी क्षेत्रफलमा निर्माण गरिएको अस्पतालबाट हाल खुंखानी स्वास्थ्य चौकीमार्फत प्रदान भइरहेका सेवा सञ्चालन गरिने तमानखोला गाउँपालिका–५ का वडाध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हिराबहादुर विश्वकर्माले बताउनुभयो ।
आधुनिक संरचनाअनुसार निर्माण गरिएको अस्पतालमा आवश्यक पूर्वाधार तयार भइसकेका छन् भने स्वास्थ्य सामग्री व्यवस्थापन र जनशक्ति पूर्तिको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
स्थानीय तेजमान सिर्पालीले नयाँ भवनसँगै स्वास्थ्य सेवा पनि विस्तार हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले अस्पताल निर्माणलाई ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै गाउँमै गुणस्तरीय र नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । प्राथमिक उपचारमा मात्र सीमित नभई थप सेवा विस्तारमा स्थानीय सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
अस्पताल सञ्चालनमा आएपछि प्राथमिक स्वास्थ्य सेवासँगै सामान्य परीक्षण, औषधि वितरण, सुत्केरी सेवा तथा आधारभूत प्रयोगशाला सेवा उपलब्ध गराउने योजना रहेको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।
आधारभूत अस्पतालका मापदण्ड पूरा भए पनि प्रदेश सरकारबाट मान्यता नपाउँदासम्म स्वास्थ्य चौकीकै रूपमा सेवा सञ्चालन हुने जनाइएको छ । अस्पताल पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित परियारले बताउनुभयो ।
अस्पताल प्रभावकारी रूपमा सञ्चालन हुन सके यस क्षेत्रका हजारौँ नागरिक प्रत्यक्ष लाभान्वित हुने र स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि हुने स्थानीयवासीको विश्वास छ ।