केही महिनाअघि शारदाले बैङ्कक जाने बेलामा त्यहीँकी साथीलाई सोधिन्– के ल्याइदिउँ ? उनकी साथीले भनिन्, “मेरी आमा ८६ वर्षकी हुनुहुन्छ, उहाँ लामो समयदेखि बिरामी हुनुहुन्छ । उहाँले खान मिल्ने पौष्टिक खाद्य पदार्थ केही भए ल्याइदेऊ ।”
शारदाले त्यहाँका विभिन्न पोषण तथा आहारविज्ञसँग सोधिन् । कसैले के सुझाए, कसैले के । विभिन्न मानिसका विभिन्न कुरा । त्यसै क्रममा पौष्टिकता विचार गरेर खाना बनाउने एक रेस्टुरेन्ट व्यवसायीले भने, “म तपाईंलाई पौष्टिक तत्वले भरिपूर्ण वस्तु दिन्छु, त्यही लगिदिनु । यद्यपि यो अलिक महँगो छ तर उत्तम वस्तु हो ।” उनका अनुसार थाइल्यान्डमा कुपोषणग्रस्त वृद्धवृद्धालाई पनि त्यो दिइन्छ ।
शारदाले उत्सुक हुँदै सोधिछन्, “के हो त्यो वस्तु ? यहाँ पाइयो भने यतैबाट लगिदिन्छु नि । ती व्यक्तिले भने “यो हेम्प हो । यसको प्रतिकेजी मूल्य थाइ भाट १००० पर्छ । अर्थात् नेपाली ३७०० रुपियाँ ।” हेम्प भनेको त भाङ हो । नेपालमा अचार खाने गरेको उनले सुनेकी थिइन् । उनलाई त्यसको पौष्टिकताबारे पत्तो थिएन । नेपालमा यसको मूल्य बढीमा प्रतिकेजी ४०० पर्ला । किन त्यहाँ ३७०० हालेर किन्नु ? जब उनले गुगल सर्च गरी भाङको बिउका बारेमा गरिएका विभिन्न अनुसन्धान पढिन्, त्यसपछि उनको भान्सामा कहिल्यै टुटेको छैन ।
भाङको बिउ
भाङको बिउको छोप बनाएर धेरैले खान्छन् । भाङको बिउमा रहेको प्रोटिन उच्च स्तरको हुन्छ । यसमा पर्याप्त मात्रामा रेशादार तत्व हुन्छ, खाना पचाउन पनि मद्दतगार हुन्छ । यसमा रहेको ओमेगा–३ फ्याटी एसिडले स्वास्थ्यमा लाभ पुर्याउँछ । अनि त ओमेगा–३ को महँगो क्याप्सुल किनेर सेवन गर्न नै पर्दैन ।
विभिन्न शोध तथा अध्ययनले भाङका दाना खाए रक्त सञ्चालन र मुटु स्वस्थ राख्न मद्दत गर्छ भन्ने उल्लेख गरेका छन् । त्यसै गरी बाथरोगीको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ भनेर बताइएको छ ।
यसलाई भुटेर, पिसेर, सलादमा वा तरकारीमा हालेर खान सकिन्छ । मैले चाहिँ प्रत्येक दिन आलस, तिल, भाङ एक चम्चा खान्छु । यसो गरिँदा क्याल्सियम चक्की खान्न, खानै पर्दैन । बजारमा भाङको तेल पनि पाइन्छ । धेरै मानिसले भाङको बिउ खायो भने भाङको नसा लागे जस्तै हुन्छ भन्ने गर्छन् तर यसको बिउले त्यस्तो असर भने गर्दैन ।
त्यस्तै अर्को हो, फर्सीको बियाँ । कतिले भुटेर, कतिले दिउल निकालेर काँचै खान्छन् । यो धेरैका घरमा भने वास्ता नगरिएकै खाद्य वस्तु हो ।
फर्सीको बियाँमा लुकेको सूक्ष्म पौष्टिक तत्वबारे थाहा पाए पनि विभिन्न किसिमका महँगा भिटामिन किनेर खानै पर्दैन । फर्सीका बियाँ प्रायः फालिन्छन् तर तिनको महत्व थाहा पाएकाहरूले भने भान्सामा जतन गरेरै राख्छन् । पहिले पहिले बुढाबुढीले फर्सीको बियाँ सुकाएर राख्थे । धेरैले त्यसको बाहिरी पत्र छोडाएर दिउल मात्रै खान्छन् । कतिले चाहिँ बाहिरको बोक्रैसमेत भुट्छन् र छोपका रूपमा समेत प्रयोग गर्छन् । दिउल मात्र खाए जस्तो मिठो स्वाद नभए पनि साह्रै पोषणयुक्त हुन्छ ।
पहाडतिर दुध, चिउरा र दहीसँग फर्सीको दिउल मिसाएर पनि खाने चलन छ । कसैले यसलाई पिसेर सलाद वा सुपमा पनि हाल्छन् । यसले शरीरमा इन्सुलिन सन्तुलनमा राख्न मद्दत गर्छ । यसमा प्रशस्त मात्रामा जिङ्क पनि पाइन्छ । अहिले फर्सीको दिउलको प्रतिकेजी मूल्य झन्डै दुई हजार छ ।
सूर्यमुखीको फूलको सुन्दरता देखेर हामी प्रफुल्लित हुन्छौँ तर यसको बिउ पनि स्वास्थ्यबर्धक छ भन्ने विचार सायदै आउँछ । सूर्यमुखी तेल अहिले पनि धेरैको घरको भान्छामा प्रयोग हुन्छ तर तेल निकाल्ने बिउको चाहिँ वास्ता गरिएको पाइँदैन ।
युरोपका विभिन्न देशमा जाँदा सूर्यमुखीको बिउबाट बनाइएको मिठाइ चाहिँ मैले खाएको छु । अब कुरो आयो ‘के छ त सूर्यमुखीको बिउमा त्यस्तो विशेष ।’ यसमा भिटामिन ‘इ’ पाइन्छ, जसले मुटु स्वस्थ राख्छ । शरीरमा रहेको अनावश्यक बोसो घटाउँछ । त्यसमा पाइने म्याग्नेशियम नामक तत्वले मांसपेसी र हड्डीको स्वास्थ्य मजबुत बनाउँछ । अनि रगतमा चिनीको सन्तुलन मिलाउन पनि मद्दत गर्छ ।
अब कुरा गरौँ आलसको । पछिल्लो समय सामाजिक सञ्जालमा धेरैले फाइदै फाइदा भनेर आलसको प्रचार गरिरहेको देखिन्छ । पहिले आलस अपहेलित थियो । अहिले धेरैले प्रयोग गर्न थालेका छन् । अहिले त यो क्याल्सियम, ओमेगा–३, रेशादार पदार्थको राम्रो स्रोत हो । लिगनेन आलसमा पाइने अर्को महत्वपूर्ण पौष्टिक तत्व हो । लिगनेन एन्टिवायरल, एन्टिफङ्गल र क्यान्सर प्रतिरोधात्मक हुन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । लिगनेनले कोलेस्ट्रोल घटाउँछ र ब्लड सुगरलाई काबुमा राख्छ । मासिक धर्मसम्बन्धी अनियमिततालाई पनि ठिक गर्छ ।
विशेष गरी महिलाको महिनावारी सुकेपछि हाडको घनत्व कम हुँदै जाने समस्या कम गर्न आलसको सेवन उचित मानिन्छ । यसलाई छोप बनाएर खान सकिन्छ । भुटेर दानै सलादमा हाल्न पनि सकिन्छ । दहीमा घोलेर प्रयोग गर्न सकिन्छ । जसरी प्रयोग गर्दा पनि हुन्छ तर राम्रोसँग चपाएर खानु पर्छ । यसबाहेक हामीकहाँ सिलाम, तिल, फिलिङ्गो, कुभिन्डोको बियाँ आदि धेरै कुरा छन् । यस्ता पौष्टिक तत्व भएका बियाँ वा दिउलबारे खोजी गर्ने र जतन गरेर उपयोग गर्ने सिपको भने अभाव छ ।
मेथीको टुसा उमारेर अचार बनाउनु नेवारी खाना परम्परामा निकै पुरानो चलन हो । यो एउटा प्रचलित खाद्यसंस्कृति बनिसकेको छ । नेवार जातिकै कतिपय सदस्यले भने मेथी टुसाको तितोपन मन नपरेर फालेको पनि देखिन्छ । टुसा उमारेको मेथीको अचार खाँदा अनुभव हुने तीतोपनले शरीर स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ ।
अहिले बजारमा सहजै पाइने जङ्कफुडका (पत्रुखाना) अर्थात् मृतप्रायः खानाका कारण घरमै उपलब्ध कतिपय महत्त्वपूर्ण खानालाई बेवास्ता गरिरहेका छौँ । हाम्रा घर वरिपरि वा भान्सामा हुने यस्ता खाना सस्ता मात्र छैनन्, स्वास्थ्यबर्धक र पोषणयुक्त पनि छन् । हामी यस्ता खानालाई भुल्दै बजारमा बढी चर्चा हुने र विज्ञापनमार्फत प्रचार गरिएका खानातिर आकर्षित भइरहेका छौँ । यस्ता खाना महँगो मूल्य तिरेपछि सहजै उपलब्ध भए पनि स्वास्थ्य तथा पोषणका दृष्टिले खराब हुन्छन् । जङ्कफुडको अधिक प्रयोगले आजको पुस्ता विभिन्न रोगको सिकार भइरहेका छन् । जङ्कफुडमा क्यालोरी एवं फ्याट अधिक मात्रामा हुने तर जीवन्त पोषकतत्व शून्यप्राय, मृतप्राय, अर्धमृत या प्राणरहित हुन्छ । यसमा शरीरलाई आवश्यक पर्ने भिटामिन, मिनिरल्स र इन्जाइम्सको मात्रा निकै कम पाइन्छ । साथै फाइबारको मात्रा त झनै नगण्य हुन्छ । त्यसैले यसको प्रयोग नगरेको नै राम्रो ।
हाम्रा परम्परागत खानामा प्रयोग गरिने र स्वास्थ्य तथा पोषणका दृष्टिले निकै महत्वपूर्ण रहेको मेथी छायाँमा पर्दै गएको छ । हामीमध्ये धेरैलाई यसको प्रयोग कसरी गर्ने भन्ने कुराको ज्ञान एवं हेक्का त्यति भइरहेको देखिँदैन । परम्परागत रूपमा खानालाई पोषणयुक्त र स्वादिष्ट बनाउन प्रयोग गरिने मेथी आज नगण्य एवं महत्वहीन बन्दै गएको छ । यसको प्रयोगलाई बढाउन सक्दा हाम्रो परिवारको स्वास्थ्य निकै राम्रो हुन्छ ।
दालमा जिरा, मेथी फुराएर खाने नेपालीको परम्परागत बानी छ । त्यसै गरी मोहीमा मेथी र लसुन फुराएर पनि खाइन्छ । हामीहरूमध्ये धेरै जसोलाई मेथीको तीतोपन मन पर्दैन र झानेको दालको पनि मेथी पन्छाएर दाल खान्छौँ तर मेथीका गुण के–के छन् भनेर थाहा पाइयो भने त सायद मेथीलाई भोजनको एक अभिन्न अङ्ग नै बनाइन्छ होला ।
केटाकेटीलाई पेट दुख्दा वा पखाला लाग्दा मेथीको जाउलो पकाएर खुवाउने चलन छ । अहिले विशेष गरी सहरी जीवनशैलीमा यो परम्परा हट्दै गएको भए पनि गाउँघरतिर भने अझै प्रचलनमा छ । खास गरी घरका हजुरआमाले यसलाई महत्त्व दिएको पाइन्छ ।
परम्परागत मेथी जाउलो पकाउने कार्य त्यति गाह्रो छैन । एकमुठी चामल र दुई मुठी दाल मिसाएर यस्तो जाउलो तयार पार्न सकिन्छ । पाक्ने बेलामा मेथी र लसुनलाई घिउमा फुराएर राखिन्छ । केहीछिन छोपेर अलिकता घिउ हालेर पकाउने गरिन्छ । यसरी पकाएको मेथी जाउलो खाँदा केटाकेटीले पेट दुखाइमा कमी आउनुका साथै जाउलो स्वादिलो पनि हुन्छ । मेथीमा स्वास्थ्यलाई लाभ पुर्याउने धेरै प्रकारका गुण हुन्छन् भन्ने अहिले खोज अनुसन्धानबाट पनि सिद्ध भइसकेको छ ।
चिनी रोग र उच्च रक्तचाप भएका व्यक्तिलाई पनि यसको सेवनले फाइदा गर्छ । समस्या भएका व्यक्तिले औषधी छोडेर केवल मेथीको सेवन गरेर मात्रै चिनी रोग निको हुने होइन, यस्ता खाद्यवस्तु खाँदैमा आफूखुसी औषधी छोड्नु हुँदैन । मधुमेहलगायत कुनै पनि रोगको औषधी खाने, छोड्ने वा घटाउने भन्ने सम्बन्धमा सम्बन्धित डाक्टरको राय लिनु नै सही कदम हो ।