• १७ साउन २०८२, शनिबार

एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य

blog

कांस्य पदकसँगै पलेशा गोबर्धन ।

काठमाडौँ, साउन १७ गते । पलेशा गोबर्धनले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि–४) मा कांस्य पदक जित्नुभएको छ ।

मलेसियामा सम्पन्न च्याम्पियनसिपमा शुक्रबार पलेशाले कांस्य पदक जित्नुभएको हो । पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता पलेशाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कांस्य जितेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिनुभयो ।

चीनको साङ्घाईमा अध्ययन गरिरहनुभएकी पलेशा त्यत्तैबाट सहभागी हुन मलेसिया पुग्नुभएको हो । जुलाइ २४ देखि अगस्ट १ तारिखसम्म सञ्चालित च्याम्पियनसिपमा पलेशासहित नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

पुरुष ५८ केजीमुनि भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोन तथा महिला ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गर्नुभएको थियो ।

नेपाली टोलीको व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ रहनुभएको थियो ।