काठमाडौँ, साउन १७ गते । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को आर्थिक अनियमितताको विषयमा छानविन गरिने बताउनुभएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले एपिएलको विषयमा उच्चस्तरीय समिति गठनको तयारी गरेको जानकारी पनि दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘एनपिएलको विषयमा छानविन गर्न गठन गरिएको कार्यदललाई नेपाल क्रिकेट सङ्घघ (क्यान) ले असहयोग गरेकाले अर्को उच्चस्तरीय नयाँ समिति गठन गर्न लागिएको हो ।
उहाँले एनपिएल कानुन सम्मत सञ्चालन हुनुपर्ने पनि बताउनुभयो । ‘‘एनपिएल गर्न हुन्न भनेर गलल प्रचार गरिएको छ । मैले कहिल्यै एनपिएल रोक्न खोजेको छैन । अनियमितिताको छानबिन गर्न हुन्न भन्नेहरू नै एनपिएल विरोधी हुन्,’’ मन्त्री चौधरीले भन्नुभयो ।
एनपिएलकोे दोस्रो संस्करण हुने र पहिलो संस्करणको छानविन पनि सँगसँगै अगाडि बढ्ने उहाँको भनाई छ । मन्त्री चौधरीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्राचार गरेपछि मन्त्रालयले छानविनका लागि कार्यदल गठन गरेका पनि बताउनुभयो ।
एनपिएलको नाफा अढाई करोड
क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले एनपिएलको पहिलो संस्करणमा २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपियाँ आम्दानी भएको र २० करोड १५ लाख ७३ हजार ५५९ रुपियाँ खर्च भएको आर्थिक विवरण सार्वजनिक गरेको थियो ।
क्यानले आम्दानी र खर्च कटाएर क्यानलाई कूल मुनामा दुई करोड ४६ लाख ५० हजार ७८९ रुपियाँ भएको जानकारी दिएको थियो ।
१५ देखि पुस ६ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा भएको पहिलो संस्करणको एनपिएलमा आर्थिक अनियमितता भएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत निकायमा उजुरी परेको छ ।
मन्त्रालयको प्रगति विवरण सार्वजनिक
पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मन्त्रालयको वार्षिक प्रगति विवरण पनि सार्वजनिक गर्नुभएको थियो ।
चौधरीले भक्तपुरमा ५० हजार सिट क्षमता भएको अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माणको काम अगाडि बढाइएको बताउनुभयो ।
एक वर्षको कार्यविवरण सार्वजनिक गर्दै उहाँले राष्ट्रिय खेलकुद नीति र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को समसामयिक संशोधनका लागि विधेयक संसदमा दर्ता गरिएको, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि २०८२ को मस्यौदा तयार भएको, जापानमा हुने २०औँ एसियाली खेलकुदका लागि मिसन २०२६ अन्तर्गत १० खेलका ८५ खेलाडी र १९ प्रशिक्षकलाई विशेष प्रशिक्षण सञ्चालन भइरहेको बताउनुभयो ।
यस्तै उहाँले मूलपानी क्रिकेट रङ्गशाला, काठमाडौँ र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, मोरङको डीपीआर सम्पन्न भएको र कीर्तिपुर क्रिकेट मैदानको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
उहाँले २७ मध्ये १६ खेलकुद सङघले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको र ती सङघलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सरकारले सहजीकरण गर्ने बताउनुभयो । नेपाल ओलम्पिक कमिटीले गैरकानुनी रूपमा काम गरिरहेको भन्दै छिट्टै अर्को तदर्थ कमिटी गठन गर्ने बताउनुभयो ।
साथै उहाँले कर्णाली प्रदेशमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता उचित समयमा गरिनेलगायत कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।