• १७ साउन २०८२, शनिबार

साउने मेलामा भक्तीसङ्गीतको रौनक

blog

रेसुङ्गा यज्ञशालामा आयोजना गरिएको भक्तीसङ्गीत प्रतियोगिता । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा, साउन १७ गते । गुल्मीको प्रसिद्ध धार्मिकस्थल रेसुङ्गामा एक महिने साउने मेला सुरु भएको छ । मेलाकै अवसरमा रेसुङ्गा संरक्षण समितिले भक्तिसङ्गीत प्रतियोगिता आयोजना गरेको छ । 

प्रतियोगितामा प्रेम भजन समूह, राधा माधव समिति, सृजनशील महिला समूह, ठुलापोखरा भजन समूह, अर्खले भजन समूह, रातामाट भजन समूह, छत्रकोट भजन समूह, शिवशक्ति भजन समूह, चन्द्रकोट चक्रेश्वर भजन समूह, बडिगाड भजन समूह बाग्लुङ र रुरुक्षेत्र भजन समूहको सहभागिता रहेको छ । एक महिनासम्म सञ्चालन हुने रेसुङ्गा साउने मेलामा संरक्षण समितिले बर्सेनि नियमित पूजापाठसहित भक्तिसङ्गीत, प्रवचन लगायतका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । 

यस्ता कार्यक्रमले रेसुङ्गामा थप आकर्षण बढ्ने र कला संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको रेसुङ्गा संरक्षण समितिका सचिव गोपाल पन्थीले जानकारी दिनुभयो । भक्तिसङ्गीत प्रतियोगीतामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २५ र २० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । साथै प्रत्येक समूहलाई सहभागीता स्वरूप पाँच हजार प्रदान गरिने पन्थीले बताउनुभयो ।


विगतका वर्षहरूमा जस्तै अहिले पनि साउने मेला सुरु भएको हो । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिने तपोभूमि रेसुङ्गा पोखरीमा स्नान गरेमा सम्पूर्ण पापहरू नष्ट भएर पूण्य तथा समृद्धि प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ ।

चारधामबाट ल्याएको जल (पानी) रेसुङ्गाको पोखरीमा मिसाइएकाले रेसुङ्गा पोखरीमा स्नान गरेमा पूण्य प्राप्त हुने धार्मिक विश्वास रहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो । साउन १ गतेबाट रेसुङ्गा पोखरीमा स्नान गरी यज्ञशालाको दर्शन गर्ने दर्शनार्थीहरूको घुइँचो लागिरहेको छ । मेलाकोे अवलोकन गर्न गुल्मीसहित अर्घाखाँची, पाल्पा, स्याङजा, प्युठान, बाग्लुङ्ग लगायतका स्थानबाट दर्शनार्थीहरू आउने गरेको समितिका अध्यक्ष भुसालले बताउनुभयो ।

साउने मेलाभर रेसुङ्गामा विद्वानहरूबाट प्रवचन, सामूहिक रुद्री, ग्रहजप, भक्तिसङ्गीत प्रतियोगिता लगायतका विशेष कार्यक्रम गरिने रेसुङ्गा संरक्षण समितिले जनाएको छ । दैनिक वेद चण्डी, रुद्री, गीता पाठ, पाञ्चायन देवता पुजन हुने समितिले जनाएको छ ।