• १८ साउन २०८२, आइतबार

दक्षिण अफ्रिकामा एक हजार अवैध खानी मजदुर पक्राउ

blog

जोहान्सबर्ग, साउन १७ गते । दक्षिण अफ्रिकाको उत्तर-पूर्वी क्षेत्रमा रहेको सुन खानीहरूमा काम गरिरहेका करिब एक हजार अवैध आप्रवासी मजदुरहरू पक्राउ परेका छन् । प्रहरीका अनुसार म्पुमालाङ्गा प्रान्तको बार्बरटन गाउँ नजिकैको खानी क्षेत्रमा एक सातासम्म चलेको अपरेशनमा यी मजदुरहरू पक्राउ परेका हुन् । 

खानी क्षेत्र वर्षौंदेखि गोप्यरूपमा अवैध रूपमा सञ्चालन हुँदै आएको जनाइएको छ । प्रहरी प्रवक्ता डोनाल्ड म्ड्लुलीले भन्नुभयो,“अझै पनि केही अवैध खानी मजदुरहरू भित्र लुकेका छन् । सतहमा निस्कनासाथ नियन्त्रणमा लिइने छ ।” खानी सञ्चालक कम्पनी बार्बरटन माइनसले विगतमा घाटाका कारण कर्मचारी हटाउँदा स्थानीय समुदायमा आक्रोश फैलिएको बताउनुभयो । 

तर पछि भित्रै अवैध रूपमा खानी सञ्चालन हुँदै आएको थाहा भएपछि प्रहरी र सुरक्षा निकायले संयुक्त रूपमा कारबाही सुरु गरेका हुन् । कम्पनीले भनेको छ, “खानीभित्र अवैध रूपमा खाद्य र अन्य सामग्री पुर्‍याइँदै आएको थियो । यसलाई रोक्न यो अपरेसन आवश्यक थियो ।” प्रहरीले अहिलेसम्म कुनै मानवीय क्षति नभएको जनाएको छ र गत वर्ष जोहान्सबर्ग नजिकैको स्टिलफोन्टेन क्षेत्रमा गरिएको यस्तै कारबाहीमा ९० जना अवैध खानी मजदुरको ज्यान गएको थियो ।

यस पटक पनि प्रहरीले खानीलाई चारैतिरबाट घेराबन्दी गर्दै भित्र आपूर्ति रोक्ने रणनीति अपनाएको थियो, जसले गर्दा भित्र रहेका मजदुरहरू बाहिर आउन बाध्य भएका थिए । रासस/एएफपी