• १७ साउन २०८२, शनिबार

चुरेमा जलसञ्चय गर्न सके मधेशमा यस्तो समस्या आउँदैन : पूर्व प्रधानमन्त्री नेपाल

blog

सर्लाहीको परवानीपुरमा आयोजित कार्यक्रममा कार्यकर्तालाई अभिवादन गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल।तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, साउन १७ गते । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मधेशलाई बचाउन चुरेमा जलसञ्चय र भण्डारण गर्नुपर्ने बताउनुभएको छ।

सर्लाहीको लालबन्दी नगरपालिका–१५, परवानीपुर बोहोरेडाँडामा शनिबार मधेश प्रदेशस्तरीय पुष्पलाल स्मृति भवनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले वर्षा हुँदा अनावश्यक बगेर गइरहेको पानीलाई चुरेमै भण्डारण गर्न सक्नुपर्नेमा जोड दिनुभएको हो।

“यहाँ परेको पानी हामीले चुरेमै सञ्चय गरेर साख्न सकेको भए तुरुन्तै बगेर समुन्द्रसम्म पुग्ने थिएन,” उहाँले भन्नुभयो, “यस्ता कुरामा सरकारले गम्भीर भएर योजना बनाउन आवश्यक छ ।” 

तत्काल मधेशका नागरिकको जीवन बचाउने र सिँचाइको प्रबन्ध मिलाउने कुरामा ध्यान दिन उहाँले सरकारसँग आग्रह गर्नुभएको छ।

आफू शनिबार कोशी प्रदेशको विराटनगरबाट उदयपुर, सिन्धुलीहुँदै सुक्खाग्रस्त मधेश प्रदेशको महोत्तरी र सर्लाहीसम्म आउँदै गर्दा बाटो भरी पानी परेको देखेर खुसी लागेको भन्दै पूर्व प्रधानमन्त्री नेपालले सुक्खाग्रस्त मधेशलाई आगामी दिनमा यस्ता समस्या आउन नदिन स्थानीय, प्रदेश र सङ्घ सरकारले तुरुन्त योजना बनाएर अघि बढ्नु जरुरी रहेको बताउनुभयो।

चुरेक्षेत्रमा पोखरी निर्माण गरेर ‘वार्टर रिचार्ज’ को प्रबन्ध गर्न सकिने पूर्व प्रधानमन्त्री नेपालको सुझाव छ।उहाँले आफू प्रधानमन्त्री हुँदा नै राष्ट्रपति चुरे संरक्षण योजना अघि सारेको उल्लेख गर्दै सप्तकोशीको पानी सप्तरी, सिराहा, धनुषा, महोत्तरी हुँदै सर्लाहीको बागमती नदीमा ल्याएर खसाल्ने योजना भने अघि नबढेको गुनासो व्यक्त गर्नुभयो।

अहिले सप्तकोशीको पानी १५ प्रतिशत मात्रै डाइभर्ट गरेर सिँचाइमा प्रयोग भइरहेको अवस्थामा सप्तकोशीको पानीलाई बागमतीसम्म ल्याउन सके मधेशमा सिँचाइका लागि अहिलेको जस्तो समस्या नआउने उहाँले दाबी गर्नुभयो।

पूर्व प्रधानमन्त्री नेपालले बोहोरेडाँडामा आफू आएर उद्घाटन गरेको पुष्पलाल स्मृति भवनमा पुष्पलालसँगै गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, तुल्सीलाल अमात्य, निर्मल लामा र मधेशका जिल्लामा किसान आन्दोलनमा सहादत प्राप्त गर्नुभएका सहिदहरूको समेत शालिक निर्माण गर्न सुझाव दिनुभएको छ।

उहाँले भन्नुभयो–“यहाँ देशका लागि अमुल्य योगदान गरेका अन्य पार्टीका नेता र किसान आन्दोलनका अगुवाको समेत शालिक राख्न सकियो भने सकारात्मक सन्देश प्रवाह हुन्छ ।” पूर्व प्रधानमन्त्री नेपालले शनिबार नै हरिपुर नगरपालिका–७, चिताइनमा पक्की छठघाटको उद्घाटन गर्नुभएको छ।

बोहेरोडाँडामा निर्मित पुष्पलाल स्मृति भवन र चिताइनमा निर्मित छठघाट मधेश प्रदेशका प्रदेश सभा सदस्य बेची लुङ्गेलीको निर्वाचन विकास कार्यक्रमको बजेटबाट निर्माण गरिएको हो।