पोखरा, साउन १७ गते । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारी प्रशासनको संक्रमणकाल चाँडै अन्त्य हुने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा शनिबार जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा ट्रेड युनियनका पदाधिकारीहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री न्यौपानेले संघीय निजामती ऐन जारी भएपछि कर्मचारी प्रशासनमा रहेको संक्रमणकाल अन्त्य हुने बताउनुभएको हो ।
कर्मचारी प्रशासनमा देखिएका समस्या हल गर्न आफू लागिपरेको भन्दै मन्त्री न्यौपानेले संघीय निजामती ऐन जारी भएपछि कर्मचारी प्रशासनमा देखिएका धेरै समस्या हल हुने बताउनुभयो । निजामती कर्मचारीहरुको न्यायिक व्यवस्थापन गर्नेबारेमा आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ । संघीय निजामती ऐन प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा टेवल भएको भन्दै राष्ट्रिय सभामा दफावार छलफलपछि समितिले टुंगो लगाएर पुनः प्रतिनिधि सभामा पठाउने र चालु संसद अधिवेशनबाट संघीय निजामती ऐन जारी हुने मन्त्री न्यौपानेले बताउनुभयो । संघीय निजामति ऐन जारी भएपछि कर्मचारीहरुले उठाएका धेरै विषय सम्बोधन हुने मन्त्री न्यौपानेले दाबी गर्नुभयो ।
मन्त्री न्यौपानेले भन्नुभयो, ‘तीनै तहका कर्मचारीको समस्या समाधान गरी कर्मचारीलाई उत्पाहपूर्वक काममा लाग्ने बातावरण बनाउन लागि परेको छु ।’ कर्मचारीको मात्र नभई अहिले जनताको समस्याको पनि निकै ठुलो रहेको भन्दै कर्मचारीहरुले जनताको कामलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गर्नुपर्ने उहाँको भनाइ थियो ।
‘भनसुनको आधारमाभन्दा कानुनको परिधि र सिष्टममा आधारित भएर सेवा दिनुहोस्’ मन्त्री न्यौपानेले भनिन् ‘जनताको काममा कुनै पनि बाहानामा ढिलासुस्ती र अलमल हुनु हुँदैन ।’ जनातामा दुई चार पैसा खर्च नगरिकन र भनसुन र पावर नलगाइकन मेरो काम बन्दै भन्ने मानसिकता रहेको भन्दै उहाँले त्यो मानसिकतालाई तोड्नुपर्ने बताउनुभयो । जनताको विश्वास जितेर कर्मचारीहरुले कार्य सम्पादन गर्नुपर्ने भन्दै उहाँले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड सजायको व्यवस्था पनि हुने बताउनुभयो ।
मन्त्री न्यौपानेलाई कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कार्यालयको सेवा प्रवाह र कास्की जिल्लाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । उक्त अवसरमा जिल्लाका सरकारी कार्यालयका प्रमुखरुले संघीय निजामती ऐन जारी नहुँदा कार्यालयका कर्मचारीहरुमा काम गर्ने वातावरण नभएको बताउनुभएको थियो ।