• १७ साउन २०८२, शनिबार

ट्रकले ठक्कर दिँदा बर्दिबासमा स्कुटर चालकको मृत्यु, एक घाइते

blog

सांकेतिक तस्बिर

रवीन्द्र उप्रेती

बर्दिबास, साउन १७ गते। बर्दिबासमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बर्दिबास-१० स्थित पूर्वपश्चिम लोकमार्गको वनपथ चौकमा शनिबार  स्कुटरलाई ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो। 

इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. २-०३-००१ ख ६४६१ नम्बरको ट्रकले ना. २-०८ प ६८३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सर्लाही लालबन्दी- ९ का ३८ वर्षीय स्कुटर चालक नरकुमार आचार्यको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते आचार्यको बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा  उपचारको क्रममा मृत्यु भएको हो।

सोही स्कुटीमा सवार ३२ वर्षीया धनकुमारी घिमिरेको उपचार भइराखेको छ। उहाँको टाउको, छाती र दुवै खुट्टामा चोट लागेको छ।

इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी विकास बमका अनुसार ट्रकले ओभरटेक गर्ने क्रममा स्कुटरलाई ठक्कर दिएको हो। ट्रकलाई बर्दिबास प्रहरीले नियन्त्रणमा लिएको छ।