• १७ साउन २०८२, शनिबार

राजनीतिक आदर्श र शिक्षा अपरिहार्य छ : पूर्व राष्ट्रपति यादव

blog

तारापति भट्टराई स्मृति प्रतिष्ठान तनहुँद्वारा शनिबार बालाजुमा आयोजित तारापति भट्टराई स्मृतिग्रन्थ विमोचन कार्यक्रममा मन्तव्य राख्नुहुँदै पूर्वराष्ट्रपति डा. रामवरण यादव । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, साउन १७ गते। पूर्व राष्ट्रपति रामवरण यादवले राजनीतिक आदर्श अहिलेको शिक्षामा अपरिहार्य भएको बताउनुभएको छ। 

तनहुँको राजनीतिक तथा सामाजिक नेता स्व. तारापति भट्टराईको ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’ भन्न स्मृति ग्रन्थ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

शनिबार काठमाडौँमा तारापति स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘‘संसारले अभ्यास गरेको उन्नत लोकतान्त्रिक अभ्यास देशले उपयोग गरिरहेको छ। यसमा केही राम्रा अभ्यास भएका छन्। केही विकृति देखिएका छन्। अहिले राम्रा काम र प्राप्त उपलब्धिका विषयमा कुरा नै हुँदैन। खाली नराम्रा कुरा मात्र गरिन्छन्। यसकारण राम्रा कुराको प्रवर्द्धन गर्दै विकृतिलाई सच्याउँदै जानुपर्ने आवश्यकतालाई अग्रजले देखाएको निष्ठालाई सिकाइ बनाउन सकिन्छ।’’


कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, राष्ट्रिय सभा सदस्य पदम परियार, गण्डकी प्रदेश सभा सदस्य अशोक श्रेष्ठ र जितप्रकाश आले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, शुक्ला गण्डकी नगरका प्रमुख कृष्णराज पण्डितसहितका वक्ताले जनताको माझमा बसेर प्रजातन्त्र प्राप्त गर्ने अभियानका कुशल पथ प्रदर्शकका रुपमा चर्चा गर्नुभयो। 

कार्यक्रममा पूर्व मन्त्री अर्जुननरसिंह के. सी., शंकर भण्डारी, डा. रामचन्द्र अधिकारी, नरहरि आचार्य, संविधान सभा सदस्य रामेश्वर पाखरेललगायत वक्ताले तनहुँलाई आधुनिक विकासको पथमा लैजान भट्टराईको योजना आधार भएको उल्लेख गर्नुभयो। 

कार्यक्रममा उहाँका समकालीन गोपीबहादुर गुरुङ्सहितका वक्ताले भट्टराईको राजनीतिक, सामाजिक र आध्यात्मिक जीवनका बारेमा चर्चा गर्नुभएको थियो। 

प्रतिष्ठानका अध्यक्ष महेश्वर भट्टराईले विभेदरहित समाजको कल्पनामा तारापतिले देखाउनु भएको बाटो वर्तमान राजनीतिक अवस्था सुधारका लागि सान्दर्भिक भएको धारणा राख्नुभयो।