काठमाडौं, मंसिर २२ गते । गायक, गीतकार तथा मोडल अशोक बिष्टको स्वर रहेको नयाँ लोकगीत ‘मिठो मिठो बोली’ सार्वजनिक भएको छ । उक्त गीतलाई लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले सार्वजनिक गर्नुभयो ।
गीतमा मौलिक कला, धर्म, संस्कृति, मेलापात, बेठी, चाडपर्व, रत्यौली–ठट्यौली लगायत विभिन्न जातजाति र धर्मबिचको एकता, माया र प्रेमको कथावस्तुलाई समेटिएको छ ।
गीतमा स्वर अशोक बिष्ट र अस्मिता न्यौपानेले दिएका छन् भने संगीत र निर्देशन सरोज प्याकुरेलले गरेका छन् । यस्तै, एरेन्ज वरिष्ठ एरेन्जर मनोहर सुनामले र रेकर्डिङ–मास्टरिङ भोला पौडेलले साउण्ड डिजाइन स्टुडियोमा सम्पादन गर्नुभएको छ ।
सुमधुर स्वरमा प्रस्तुत यो गीतको भिडियोमा पुनम दाहाल, अशोक बिष्टसहित क्षेत्रपाल माध्यमिक विद्यालयका विद्यार्थीहरूको आकर्षक अभिनय छ । गीतको नृत्य निर्देशन विद्यालयकी नृत्य शिक्षिका कमला चुधारले गर्नुभएको छ भने कोरियोग्राफी देवेन्द्र कुँवरले गर्नुभएको छ ।