• २२ मङ्सिर २०८२, सोमबार

युवालाई राजनीतिक प्रशिक्षण

blog

धुलिखेलमा हालै एउटा गोष्ठी भयो । ‘जेनजी राजनीति : अवसर, चनौती र दिगो सफलता’ विषयक गोष्ठीको आयोजना युवा अभियान नामक संस्थाले गरेको थियो । तीनदिने गोष्ठीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी सङ्घ, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घ, नेपाल तरुण दल, प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घका प्रतिनिधिहरूले भाग लिएका थिए । गोष्ठीमा नागरिक समाजका प्रतिनिधि, बुद्धिजीवी एवं पत्रकारको पनि सहभागिता थियो । आमरूपमा जेनजीको समय रमाइलो र मोजमस्तीमा बित्ने गर्छ । केही जेनजीहरू अध्ययनबाट बचेको समयमा बाहिर अध्ययन गर्न जान तारतम्य मिलाउन पनि लागिरहेका हुन्छन् । 

साइबर क्याफे र डिस्कोमा समय बिताएको पत्तै नपाउने जेनजी पनि धेरै छन् । स्मार्ट फोनमा रमाउने जेनजीको समूहले देशमा व्याप्त भ्रष्टाचार, कुशासन, बेथिति, राज्य संरचनाको दलीयकरण र दलीय थिचोमिचोको सिन्डिकेटबाट वाक्क भएकाले भ्रष्टाचारविरोधी दुईदिने क्रान्ति गरे । कतिले ज्यान गुमाए, कैयौँ घाइते भए भने कोही दृष्टिविहीन भएकै कारण अस्पतालमा उपचाररत छन् । 

सोही आन्दोलनले एउटा चरण पार गरेको सबैलाई थाहै छ । जेनजीको सडक प्रदर्शन र आन्दोलनको म्यान्डेटमा अन्तरिम सरकार गठन र संसद् विघटन भएसँगै सो क्रान्तिले वैधानिकताको स्वरूपमा प्राप्त गरेको छ । यतिबेला जेनजी समूह राजनीतिक ज्ञान हासिल गर्ने बाटो खोजिरहेको छ । जेनजीले राजनीतिक पार्टी पनि खोलिसकेका छन् । राजनीति कसरी गर्ने, जेनजीको एकता कसरी कायम गर्ने र आमजनमानसमा कसरी स्थापित हुने भन्ने ज्ञान लिनै बाँकी छ । त्यसो त जनताको विश्वास जित्न सक्ने नीति र कार्यक्रम पनि चाहिएला ।

जेनजी मात्रै जताततै परिवर्तनका लागि लागेका छन्, जो देशको परिस्थितिका बारेमा जानकारी राख्न चाहन्छन् र परिस्थिति किन यस्तो भयो भनेर चिन्तन मनन गर्छन् ।

जेनजीका विषयमा पछिल्लो समय आमधारणामा परिवर्तन आएको छ । तसर्थ जेनजीहरू पनि देशका लागि सोचिरहेका छन् । प्रत्यक्ष राजनीतिमा लाग्ने छन् पनि । राजनीति गर्ने जेनजी भनेको सडक र घरका सिसामा ढुङ्गा हान्ने काम मात्र गर्ने व्यक्ति होइनन्, उनीहरू मुलुकको भविष्यका बारेमा सोचिरहेका पनि छन् । आफ्नो दृष्टिकोण अनुसार मुलुकका लागि केही न केही गरिरहेका छन्, सुशासन नभएरै देश अघि बढ्न नसकेको आभास उनीहरूलाई भइरहेको छ ।

जेनजीका समस्यालाई युवाले नै समाधान गर्न सक्नुपर्ने सोच राखेर उनीहरू अघि बढेका छन् । राजनीतिको विषयमा पनि जानकारी लिन जेनजीको समूह अघि बढेको छ । जेनजी मिलेर राजनीतिलाई पेसा र व्यवसाय नभई समाज सेवाको माध्यम बनाउँछन् भन्ने विश्वास गर्नु पर्छ । जेनजी सबै दलमा छन् । देश बनाउन एकता जरुरी छ । विभाजित भएर अघि बढ्न सकिँदैन पनि । त्यो कुरा जेनजीलाई थाहै छ । हरेक दलमा जेनजी वा युवा समूहले नेतृत्व लिने वातावरण बन्यो भने छुट्टै दलको आवश्यकता पर्दैन । युवा भावना तिनीहरूले नै बोकिहाल्छन् । सबै दलीय नेतृत्व त्यही दिशामा अघि बढ्नु आवश्यक छ । राजनीति सिक्दै गरेका र राजनीतिमा लागेका जेनजीको व्यक्तित्व विकासमा सहयोग गर्ने उद्देश्य जुन दलले बोक्छ, त्यही दल चुनावबाट अनुमोदित हुन्छ । 

राजनीति भनेपछि नाक खुम्च्याउने जेनजीलाई राजनीतितिर आकर्षित गराउनु कम चुनौतीपूर्ण छैन तर आवश्यकताको सिद्धान्तले उनीहरूलाई राजनीतिले जबर्जस्त तानेको छ । राजनीतिको पहिलो र दोस्रो पुस्ता पूर्ण असफल हुनुको परिणाम थियो, युवा विद्रोह र जेनजी युवाको जबर्जस्त आगमन । हरेक जिल्लामा जेनजीलाई अघि बढाउन धुलिखेलमा भए जस्तो गोष्ठी आवश्यक छ । उनीहरूलाई सही गाइडलाइन दिएर देश निर्माणमा लगाउनु पर्छ । जेनजीले समाजको स्थिति बुझ्न आवश्यक छ, त्यसका लागि राजनीतिक प्रशिक्षण झन् बढी आवश्यक बनेको छ । 

अन्तरसङ्गठन सम्बन्ध, एउटा दल र अर्को दलबिचको सम्बन्ध, अन्तरपार्टी लोकतन्त्र र आन्तरिक लोकतन्त्रबारे युवालाई प्रशिक्षण आवश्यक छ । पुरानालाई समर्थन गर्नुभन्दा नयाँ युवालाई अघि बढाउनुपर्ने समयको बाध्यता हो । समयको गति बुझ्न सकिएन भने त्यसले मुलुकलाई नै नोक्सान पुग्ने छ । 

सामाजिक सञ्जाल व्यवस्थापनसँगै मुख्य राजनीतिक प्रकरणहरूमा भाषण, वस्तु बिक्री, अनलाइन शिक्षा, वेब डिजाइनिङ, डिजिटल मार्केटिङ, सफ्टवेयर, परामर्श सेवा, ब्लगिङ, युट्युबमार्फत चेतनामा जेनजीलाई सहभागिता गराउन आवश्यक छ । यसै पनि प्रविधिमा जेनजी अगाडि नै छ । सामाजिक सञ्जालकै प्रयोगबाट पढ्ने खर्चको जोहो गर्नुपर्ने जेनजीलाई समयको महìव राम्रोसँग थाहा छ । नेपालमै बसेर विश्वव्यापी बजारमा पहुँच बनाउँदै गरेको जेनजीलाई अगाडि बढाउन सकियो भने त्यसले देशलाई फाइदै पुग्ने छ । पुरानो पुस्ताबाट अब राजनीति हुन्न । हो, त्यो पुस्ताले आजसम्म मुलुकलाई जेनजेत धानेर राख्यो, अब उनीहरूबाट आस नगरौँ, दास पनि नबनौँ । कांग्रेस पार्टीमा युवाले हस्तक्षेप गर्ने जमर्को पनि गरेका छन् । त्यो जमर्कोलाई पार्टी कब्जासँग तुलना गर्ने हो भने अन्याय हुने छ । कोही न कोही अगाडि आउनै पर्छ, पथ्र्यो । कसैको राजनीति जोगाइदिन पार्टी बलिदान दिने अवस्थाको अन्त्यकै लागि जेनजी विद्रोह भएको हो । युवा ऊर्जाको उपयोगमार्फत समृद्ध नेपालको परिकल्पना गरौँ । जेनजीको ऊर्जा उपयोग गर्न सकियो भने त्यसले देशलाई समृद्ध बनाउन बेर लाग्ने छैन ।