• १८ साउन २०८२, आइतबार

६७ वर्षीय बिरामीको हेलिकप्टरमार्फत उद्धार

blog

विरामीको हेलिकप्टरमार्फत उद्धार गरिदै ।

गंगाकुमारी मिजार

रसुवा, साउन १७ गते । गोसाइँकुण्ड गाउँपालिका –२ टिमुरे निवासी ६७ वर्षीय लेम्बा तामाङमा आकस्मिक स्वास्थ्य समस्या देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौंस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको छ । 

बिरामीलाई एपेन्डिसाइटिसको समस्या देखिएपछि तत्काल शल्यक्रियाको आवश्यकता परेपछि हवाई उद्धार गर्नुपरेको हो। असार २४ गतेको बाढी र त्यसपछि पुनः बुधबार बिहान आएको बाढी तथा निरन्तरको वर्षा र पहिरोका कारण स्याफ्रुबेशी–टिमुरे सडक खण्ड पटक–पटक अवरुद्ध हुँदा स्थलमार्ग प्रयोग असम्भव बनेको छ । सोही कारणले स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकाले हेलिकप्टरमार्फत काठमाडौं पठाइएको गोसाइँकुण्ड गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक विमल घिमिरेले जानकारी दिनुभयो।

उद्धार कार्य गोसाइँकुण्ड गाउँपालिका र मेडिक्स एण्ड माउण्टेनेरियस फाउण्डेसन नेपालको सहकार्यमा निःशुल्क रूपमा सम्पन्न गरिएको हो। गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार विपद्‌को बेला आपतकालीन उद्धार सहज होस् भन्ने उद्देश्यले पालिकाले पहिले नै फाउण्डेसनसँग उद्धारसम्बन्धी पूर्वसम्झौता गरिसकेकोले तत्काल उद्धार सम्भव भएको हो।

काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा बिरामीको आइतबार शल्यक्रिया हुने बताइएको छ । हाल बिरामीको अवस्था सामान्य रहेको पिरामीका आफन्तले जानकारी दिएका छन् ।