• १८ साउन २०८२, आइतबार

न्यून चापीय रेखा उत्तरतर्फ, आइतबारदेखि वर्षा सघन हुने

blog

काठमाडौँ, साउन १७ गते । न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षाको गतिविधि बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज पनि देशभर बदली भई ठाउँ ठाउँमा वर्षा भएको छ । यो क्रम आइतबारदेखि झन् बढ्ने विभागको भनाइ छ । 

भोलिदेखि न्यून चापीय रेखा उत्तरतर्फ गएकाले तराईमा समेत वर्षा हुने देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ ।

वर्षा हुने प्रणाली सक्रिय भएकाले अबको तीन दिन वर्षाका गतिविधि बढ्ने मौसमविद् कँडेलले बताउनुभयो । अहिले कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको उहाँले जानकारी दिनुभयो । महाशाखाले राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकाले सर्वसाधारण तथा सबै सरोकार भएका निकायमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले आज साँझ बुलेटिनमार्फत अनुरोध गरेको छ ।

तराई क्षेत्रमा आइतबार रातिदेखि साधारणतया बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । उहाँका अनुसार आइतबार कोशी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । सोमबार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुने जनाइएको छ ।

पछिल्लो ६ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा ८२ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । यस्तै अर्घाखाँचीमा ७२ दशमलव पाँच, दाङको पदमपुरमा ७२ दशमलव दुई मिलिमिटर पानी परेको छ । अन्य अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।