नेत्र शाही
जुम्ला, साउन १७ गते । अन्यौलमा रहेका जुम्लाको सिँजा गाउँपालिका र नाग्म गमगडि राजमार्ग जोड्ने २ वटा मोटरवल बेलिब्रिज पुल बन्ने पक्का भएको छ ।
सिँजा गाउँपालिकाको योजना अनुसार वि.सं २०७९ सालमा विपद्ले क्षति पुर्याएको सिँजा गाउँपालिका जोड्ने कोटेसाँघुमा मोटरवल बेलिब्रिज पुल निर्माण हुने भएको हो । गाउँपालिका अनुसार यस पटक कोटेसाँघुको पुल तथा गाउँपालिकाबाट रनुखाना गाउँ जोड्ने मोटरबल पुल पनि निर्माण हुने भएको हो ।
गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार ति पुल निर्माणका लागि सङ्घीय सरकारबाट एक करोड ३९ लाख रुपियाँ समपुरक अनुदानबाट बजेट आएपछि गाउँपालिकाले दुई करोड बजेट विनियोजन गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि सवैभन्दा ठूलो ठोस योजना दुईवटा पुल निर्माण कार्यमा प्रथामिकता दिएको हो ।
जम्मा सात करोड रुपियाँ पुल लागत भएका ति पुलको यस वर्ष तीन करोड ३९ लाख रुपियाँको ठेक्का भएर काम अगाडि बढ्ने अध्यक्ष धितालले जानकारी दिनुभयो । सङ्घीय अनुदानसँगै गाउँपालिकाले एक/एक करोड बजेट विनियोजन गरेपछि नाग्म गमगडि राजमार्ग जोडिने भएको छ ।
जुम्लासहित कर्णालीमा वि.सं २०७९ सालमा आएको बाढीले सिँजा गाउँपालिका–३ जोड्ने पुल भत्किएको थियो । पुल भत्किएपछि स्थानीयलाई आवतजावत समस्या हुँदै आएको अवस्थामा सो पुल पनि निर्माण हुने भएको छ । कोटेसाँघुमा पुल नहुँदा वडा नम्बर २ र नाग्म गमगडि राजमार्गबाट आउने मानिसहरु आचार्यलिहीबाट घुमेर आउन बाध्य भएको छ ।
अहिले गाउँपालिकाले दुईवटा मुख्य पुलहरुका लागि बजेट विनियोजन गरेपछि स्थानीय खुशी भएका छन् । स्थानीय हिम्मत खत्रीका अनुसार कोटेसाँघु र रनुखानाका पुल सिँजाका जनताको महत्त्वपूर्ण आवतजावत हुने पुल भएकाले यस पटक गाउँपालिकाले निकास दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।