• १७ साउन २०८२, शनिबार

कप्तान ‘साम्बा’ हेटौँडामा सम्मानित

blog

कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई सम्मान गरिँदै । तस्बिर : गोरखापत्र

राममणि दाहाल

मकवानपुर, साउन १७ गते । फुटबल खेलको माध्यमबाट नेपाललाई विश्वभर चिनाउने नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई हेटौँडामा सम्मान गरिएको छ । 

सञ्चारिका समूह मकवानपुरले ५० हजार नगदसहित साम्बालाई सम्मान गरेको हो । सञ्चारिका समूहले देश चिनाउनेसँग हाम्रो चिनजान एवं सम्मान कार्यक्रममा ‘साम्बा’ ले नेपाललाई खेलकुदको माध्यमबाट एकताको सुत्रमा बाध्ने र नेपालको प्रतिष्ठा उच्च बनाउने काम गरेको चर्चा गरिएको थियो । 

साम्बाले कार्यक्रममा आफूले मोजाको फुटबल बनाएर खेलयात्रा सुरु गरेको भन्दै अभावका बिच आफ्नो खेलप्रतिको निष्ठा र निरन्तरलाले अहिलेको सफलता हात परेको सुुनाउनुभयो । 

आफ्नो फुटबल जीवनको सङ्घर्षको कथा सुनाउँदै उहाँले उहाँले भन्नुभयो, ‘आजको दिन अविष्मरणीय रहने छ । खाली खुट्टा खेले, मोजाको भकुण्डोले मलाई धेरै कुरा सिकाएको छ, मैले सबै सुविधा पाएको भए यो स्थानमा पुग्दिन थिए होला ।’  

नगद पुरस्कारको प्रायोजन हेटौँडा स्कुल अफ म्यानेमेन्टले गरेको हो । सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सानुमाया गुरुङ (निशा) का अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र हेटौँडा स्कुल अफ म्यानेमेन्टका सञ्चालक पुरनबहादुर जोशीले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

हालै न्यूजिल्यान्डको क्लबसँग आवद्ध साम्बा यसअघि फ्रान्सेली क्लबमा आबद्ध हुनुहुन्थ्यो ।