आक्रा, साउन १७ गते । गानाका राष्ट्रपति जोन ड्रमानी महामाले गाजामा जारी मानवीय संकटका पीडितहरूलाई सहयोग पुर्याउने उद्देश्यले ४० मेट्रिक टन राहत सामग्री हस्तान्तरण गर्नुभएको छ । उक्त सामग्रीमा गानामा उत्पादित कोको आधारित खाद्य वस्तुहरू रहेका छन्, जसले प्यालेस्टिनी जनताको भोकमरीबाट जोगिन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
राष्ट्रपति महामाले भन्नुभयो, “यस सहयोगमार्फत गानाले विश्व शान्ति, मानवता र सहानुभूतिप्रतिको आफ्नो प्रतिवद्धता पुनः पुष्टि गरेको छ ।” उहाँले कोको गानाको एक महत्वपूर्ण प्राकृतिक स्रोत भएको र लाखौं गानाली किसानहरूको आर्थिक जीवनसँग प्रत्यक्ष सम्बन्धित रहेकोसमेत उल्लेख गर्नुभयो । उहाँले गानाले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघका प्रस्तावअनुसारको इजरायल र प्यालेस्टाइनबीचको वार्तामार्फत शान्तिपूर्ण सहमतिलाई पूर्ण समर्थन गर्ने धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा गानामा नियुक्त प्यालेस्टिनी राजदूत अब्दलफताह अहमद खालिल अलसत्तारीले राष्ट्रपति महामाप्रति र गानाली जनताप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै यो सहयोग गाजाका जनताको लागि निकै महत्वपूर्ण भएको बताउनुभयो । रासस/सिन्ह्वा