• १७ साउन २०८२, शनिबार

अवैधरूपमा चित्तल पालन गरेको भन्दै छानबिन गर्न निर्देशन

blog

डिभिजन वन कार्यालय कञ्चनपुर । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट
कञ्चनपुर, साउन १७ गते ।
डिभिजन वन कार्यालय कञ्चनपुरले जिल्लास्थित एक पालिकाले अवैधरूपमा जङ्गली जनावर चित्तल पालन गर्दे आएको भन्दै छानबिन गर्न निर्देशन दिएको छ । जिल्लाको कृष्णपुर नगरपालिकाले विगत एक वर्षदेखि अवैधरूपमा चित्तल पालन गर्दै आएको भन्दै डिभिजन वन कार्यालय कञ्चनपुरले वाणी सब डिभिजन वन कार्यालयलाई छानबिन गर्न निर्देशन दिएको हो ।

शुक्रबार डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले कृष्णपुर नगरपालिकामा अवैधरूपमा पालन गरिराखेको चित्तलको विषयमा छानबिन गर्न शब डिभिजन वन कार्यालय वाणीलाई पत्रानुसार निर्देशन दिएको बताउनुभयो । 
कृष्णपुर नगरपालिकाले चित्तलका लागि छुट्टै खोर नै बनाएर दुई वटा चित्तल पालन गर्दै आएको जानकारी आएकाले त्यसको विषयमा जाँचबुझ प्रतिवेदन पेस गर्न वाणी सब डिभिजन वन कार्यालय कञ्चनपुरका वरिष्ठ वन अधिकृत भरतप्रसाद शाहलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा (१५) बमोजिम वन्यजन्तुको संरक्षण, प्रवर्धन तथा पालन गर्न चाहने व्यक्ति वा संस्थाले अनुमति लिनुपर्ने व्यवस्था रहेको छ ।

तर सो पालिकाले अनुमति लिएको नलिएको ? के कुन प्रयोजनका लागि पालन भइरहेको ? कहाँबाट कुन अवस्थाबाट ल्याइएको ? सो वन्यजन्तुको हालको अवस्था के कस्तो रहेको छ ? सो सम्बन्धमा व्यक्तिहरूबाट यर्थाथ बुझी राय समेतको प्रतिवेदन पेस गर्न डिभिजन वन कार्यालय कञ्चनपुरले निर्देशन दिएको छ ।