लन्डन, साउन १७ गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै देशहरूमा नयाँ भन्सार कर लगाउने निर्णय गर्नुभएको छ । त्यसैगरी, अमेरिकामा रोजगारीको सङ्ख्या अपेक्षा भन्दा कम देखिएपछि चिन्ता थपिएको छ । यी दुई कारणले गर्दा शुक्रबार विश्वका प्रमुख सेयर बजारमा उल्लेखनीय गिरावट आएको छ ।
अमेरिकी डाउ जोन्स सूचकाङ्क १.२ प्रतिशतभन्दा बढीले घटेर खुलेको छ भने पेरिस र फ्राङ्कफर्टका सेयर बजार दुई प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन् । अमेरिकी डलरले पनि प्रमुख मुद्राको तुलनामा आफ्नो पहिलाको लाभ गुमाएको छ । ट्रम्पले अगस्ट १ को म्याद अगाडि नयाँ शुल्कको घोषणा गरे, जसले विभिन्न देशलाई सम्झौतामा आउन दबाब दिएको थियो ।
कमजोर रोजगारी तथ्याङ्कले बजारमा झनै दबाब
अमेरिकी श्रम विभागका अनुसार, जुलाई महिनामा केवल ७३ हजार नयाँ रोजगारी सिर्जना भएको छ, जुन विश्लेषकहरूको अपेक्षाभन्दा निकै कम हो । साथै, मे र जुन महिनाको रोजगार तथ्याङ्कलाई पनि घटाएर संशोधन गरिएको छ । ह्त्द्य ट्रेडिङ समूहकी अनुसन्धान निर्देशक क्याथलीन ब्रुक्सले भन्नुभयो, “अब रोजगारीको तथ्याङ्कले बजारको ध्यान पुरै तानेको छ । ट्रम्पका भन्सार शुल्कभन्दा पनि यो समाचार प्रभावशाली भएको छ ।”
स्विट्जरल्यान्ड र क्यानाडा प्रमुख निशानामा
ट्रम्प प्रशासनले ७० देशमाथि नयाँ शुल्क लगाएको छ, जसमा क्यानाडामाथि ३५ प्रतिशत र स्विट्जरल्यान्डमाथि ३९ प्रतिशत शुल्क प्रस्ताव गरिएको छ । स्विस सरकारले त्यसविरुद्ध अमेरिकासँग वार्ता गर्ने तयारी गरिरहेको जनाएको छ । केही देशहरू बेलायत, युरोपेली सङ्घ, जापान र दक्षिण कोरियाले शुल्कबाट बच्न अमेरिका सँग सम्झौता गरिसकेका छन् । चीन भने वार्ताको प्रक्रियामा छ ।
फार्मा र प्रविधि कम्पनीमाथि असर
ट्रम्पले अमेरिकी बजारमा औषधीको मूल्य नघटाएमा कडा कदम चाल्ने चेतावनी दिएपछि युरोपेली औषधी कम्पनीहरूको सेयर मूल्य घटेको छ । यता, प्रविधि कम्पनीहरूले राम्रा आर्थिक नतिजा देखाए पनि बजारमा अनिश्चितताले ती परिणामहरू ओझेलमा परेका छन् । रासस/एएफपी