टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), साउन १७ गते । इस्मा गाउँपालिका–३ दर्लामचौरका ७१ वर्षीय तेजबहादुर विकले उमेरमा हुद्ध (कोदो रोप्दा गाउने गीत) गाउनुहुन्थ्यो । कोदो रोप्दा गाउँमा धेरै ठाउँमा हुद्ध हुने भएकाले बोलाउनेको खोसाखोस हुन्थ्यो । गाउँदै र नाच्दै रोप्दा मेलो सकिएको पत्तै हुन्थेन । अचेल गाउँमा कोदो रोप्न पनि छोडे उमेर ढल्किदै गएपछि वैशमा जस्तो विकको गलो पनि मिल्दैन् ।
इस्मा गाउँपालिका–४ दोहलीका नारायण, माधवलाल र शोभाखर अर्यालकोमा ३०/३५ जना खेतलाले कोदो मात्रै रोप्थे । कोदोको बिउ छरेदेखि काटेर भित्र्याउने बेलासम्म ५० भन्दा बढि काम गर्ने खेतला हुन्थे । विस्तारै भाईहरु छुट्टिदै र बसाइँसराइ गर्दै गएपछि अहिले आफैले पनि कोदो खेतीनै गर्न छोडेको ७३ वर्षीय माधवलाल अर्यालले बताउनुभयो । साउनमा रोपेको कोदो मङ्सिरमा पाक्थ्यो ।
कम्तीमा २० मुरी फल्ने कोदोले घरपरिवारलाई पुगेर खेतलालाई समेत दिन सकिन्थ्यो । त्यो वेला चामल प्रसस्त थिएन । जसका कारण कोदो उत्पादनमा सबैको चाख थियो । उहाँले भन्नुभयो, “४०/५० जनाले कोदोको काम गर्ने मुलबारी आँखै अगाडि बाँझा हुँदै गए । तराईको चामल गाडीले दैलामा झारेपछि कोदो खानेहरु पनि कम हुँदै गए ।” दाजु नारायण अर्यालले गाउँ छोडेका १५ वर्ष भयो ।
तीन वर्षदेखि कान्छो भाई शोभाखर अर्यालले समेत बारी गाउँ छोडेपछि आफुले पनि गर्न सक्ने अवस्था नरहेको माधवलाल अर्यालले बताउनुभयो । दोहलीकै मान प्रसाद तिमल्सेनाका अनुसार असार र साउन दुई महिना कोदोको कामले अरु फुर्सद हुन्थेन् । उहाँ आफैँले पनि आठ÷नौ रोपनीमा कोदो खेती गर्नुहुन्थ्यो । त्यो बाहेक मेलापर्म र पारिश्रमीकमा कोदोको कामले भ्याइनभ्याई हुन्थ्यो । गाउँमा माझबारी बाहेक सबै बाँझा छन् । उहाँले गाउँमा कोदोको काम गर्ने र खाने दुवै अवस्था हराउँदै गएको बताउनुभयो ।
कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार पछिल्ला वर्षहरुमा कोदो उत्पादन क्षेत्रफल र उत्पादकत्व दुवै घट्दै गएको छ । आर्थिक वर्ष २०७९/०८० मा दुई हजार ९२१ हेक्टरमा तीन हजार ८२६ मेट्रिकटन कोदो उत्पादन भएको थियो । २०८०/०८१ मा दुई हजार ८८३ हेक्टरमा तीन हजार ६९० मेट्रिकटन कोदो उत्पादन भयो ।
त्यस्तै, २०८१÷०८२ मा दुई हजार ८५० हेक्टरमा तीन हजार ६४८ मेट्रिकटन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शिवप्रसाद बञ्जाडेले जानकारी दिनुभयो । जिल्लाका सबै स्थानीय तहमा थोरै–धेरै कोदो उत्पादन हुँदै आएको छ । अत्यधिक कोदो उत्पादन हुने गुल्मी पश्चिमका इस्मा, मालिका, मदाने र मुसिकोट नगरपालिका हुन् । तरपनि बर्सेनी कोदो उत्पादन हुने क्षेत्रफल र उत्पादन दुवै घटेको छ ।
यस वर्ष पनि थप घट्ने केन्द्रको प्रक्षेपण छ । यस आर्थिक वर्षमा कोदो उत्पादन हुने क्षेत्रफल दुई हजार ८२२ हेक्टर रहने र तिन हजार ६१२ मेट्रिक टन कोदो उत्पादन हुने अनुमान छ । जिल्लामा हालसम्म ७२ प्रतिशत कोदो रोपाइँ सकिएको छ ।
गरिवको खान्कीका रुपमा हेरिने कोदोको उत्पादकत्व र क्षेत्रफल घट्दै गएको छ । इस्मा गाउँपालिकाले २०७६ सालमा कोदो प्रवर्धन गर्न सहकारी मार्फत कृषकको कोदो खरिद गर्ने र उपहारमा कोदोको परिकार दिने निर्णय गरेपनि निरन्तरता दिन सकेन् । यो वर्ष कृषि ज्ञान केन्द्र र इस्मा गाउँपालिका–३ वडाकार्यालयको समन्वयमा कोदो महोत्सव गरियो ।
इस्मा गाउँपालिका–५ का ४६ वर्षीय दुर्गा बिष्टले स्थानीय ओम बहादुर पछाईँको बारीमा पञ्चेबाजासहित हुद्ध (खेती लगाउने बेला गाइने गीत) गाएर कोदो रोपेर महोत्सव गरिएको थियो । उहाँकोमा १३ खेतला, तीन जना खन्ने र कलाकार थिए । गाउँमा हुद्ध गाएर कोदो रोप्न चलनको संरक्षण गर्न ज्ञान केन्द्रसँग समन्वय गरेर कोदो महोत्सव राखिएको इस्मा गाउँपालिका–३ का वडाध्यक्ष ज्योतिराज कुँवरले बताउनुभयो ।
इस्मा गाउँपालिका–३ का युवा कृषक कमल घिमिरेले कृषकहरुका दिवसको सरकारले संरक्षण गर्नुपर्ने बताउनुभयो । यस्ता पर्व वा दिवसहरु ठूलाका रमाइलाका लागि भन्दा किसानका लागि हुनुपर्नेमा उहाँले जोड दिनुभयो । गाउँका कृषि कर्म गर्नेहरु दुर्लभ हुँदै गएकाले सरकारले सीप, अनुदान, प्रविधी, उर्जा र बजारमा ध्यान दिनुपर्ने घिमिरेले बताउनुभयो ।