• १७ साउन २०८२, शनिबार

बर्दघाटमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते

blog

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाटमा अनियन्त्रित भई दुर्घटना भएको बस । तस्बिर : बिकास अधिकारी

विकास अधिकारी

पश्चिम नवलपरासी, साउन १६ गते । नवलपरासीको बर्दघाटमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। 

बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट बजारमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृतक पुरुष व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उहाँलाई बर्दघाटमा रहेको चिसापानी अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइते भएका १२ जना मध्ये ५ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उपचारका लागि बुटवल पठाइएको छ भने बाँकी घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो । 

अगाडि रहेको अटोरिक्सालाई बचाउने क्रममा बस अनियन्त्रित भई  विपरीत लेनमा पल्टिएको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।