• १७ साउन २०८२, शनिबार

अख्तियारमा गुल्मीका झण्डै डेढ सय उजुरी

blog

रमेश विश्वकर्मा 
गुल्मी, साउन १७ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमा गुल्मीका स्थानीय तहका झण्डै डेढ सय उजुरी कायम रहेको पाइएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा यस जिल्लाका दुई नगरपालिका र दस गाउँपालिकाका गरी १२ स्थानीय तहका १४३ उजुरी कायम रहेको तथ्याङ्कमा उल्लेख छ ।

यी उजुरी भ्रष्टाचार, अनियमितता, प्रशासनिक ढिलासुस्तीलगायतका विभिन्न विषयसँग सम्बन्धित रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सूचना अधिकारी गिता अधिकारीले जानकरी दिनुभयो । आव २०८१/०८२ मा यस कार्यालयमा परेका उजुरीहरू विभिन्न माध्यमबाट प्राप्तसँगै अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका कायम भएका छन् ।

सूचना अधिकारी आचार्यका अनुसार एक वर्षमा कायम भएका उजुरीमध्ये छानबिन तथा अनुसन्धानबाट १२१ फर्छ्यौट भएका छन् । २२ उजुरी फर्छ्यौट हुन बाँकी रहेका छन् । आयोगमा प्राप्त उजुरीमध्ये विभिन्न निकायमा कारबाही लेखी पठाउनुका साथै सुझावसहित कार्यान्वयनका लागि लेखी पठइएको उहाँले बताउनुभयो । एक वर्षको अवधिमा सबैभन्दा बढी उजुरी इस्मा गाउँपालिकाको कायम रहेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा यस गाउँपालिकाको ३३ उजुरी कायम रहेको हो । जसमध्ये २६ उजुरी फर्छ्यौट भएका छन् । सात उजुरी फछ्र्यौट हुन बाँकी रहेको तथ्याङ्कमा उल्लेख छ । 
रेसुङ्गा नगरपालिकाको २२ उजुरी कायम रहेको थियो । जसमध्ये १८ उजुरी फर्छ्यौट भएको छ । चार उजुरी फर्छ्यौट हुन बाँकी छ । मालिका गाउँपालिकाको २१ उजुरी कायम रहेको थियो । जसमध्ये १७ उजुरी फर्छ्यौट र चार उजुरी फर्छ्यौट गर्न बाँकी रहेको छ । मुसिकोट नगरपालिकाको कायम रहेका ११ उजुरी सबै फर्छ्यौट भएका छन् । कालिगण्डकी गाउँपालिकाको कायम रहेको ११ उजुरीमध्ये नौ उजुरी फर्छ्यौट र बाँकी दुई उजुरी रहेका छन् । रुरुक्षेत्र गाउँपालिकाको कायम रहेका ११ उजुरीमध्ये नौ उजुरी फर्छ्यौट र दुई उजुरी फर्छ्यौट हुन बाँकी रहेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, धुर्कोट गाउँपालिकाको कायम रहेको १० उजुरी सबै फर्छ्यौट भएका छन् । मदाने गाउँपालिकाको आठ उजुरी कायम रहेको थियो । जसमध्ये छ उजुरी फर्छ्यौट र बाँकी दुई उजुरी रहेका छन् । सत्यवती गाउँपालिकाको कायम रहेको सात उजुरी सबै फर्छ्यौट भएका छन् । छत्रकोट गाउँपालिकाको कायम रहेको पाँच उजुरी सबै फर्छ्यौट भएका छन् । गुल्मीदरबार गाउँपालिकाको कायम रहेको दुई उजुरीमध्ये एक फर्छ्यौट र एक बाँकी रहेको छ ।

चन्द्रकोट गाउँपालिकाको कायम रहेको दुई उजुरी सबै फर्छ्यौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कायम रहेका यस जिल्लाका कुल २६४ उजुरीमध्ये २१५ उजुरी फर्छ्यौट भएका थिए । ४९ उजुरीको जिम्मेवारी सरेको तथ्याङ्कमा उल्लेख छ ।